नेकपाको सचिवालय बैठक बुधबार बस्दै



काठमाडौँ, भदौँ २६

प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकतालगायतका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्ने भएको छ ।

यसअघि पटकपटक स्थगित हुँदै आएको बैठक बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । सचिवालय बैठक बोलाउने विषयमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार छलफल भएको थियो ।

तल्ला तहका एकता प्रक्रिया टुङ्ग्याउन बैठक बस्न लगेको हो । प्रवक्ता श्रेष्ठले तल्ला तहका साङ्गठनिक एकता गर्नका लागि बैठक बस्ने थालेको बताउनुभयो । ‘‘बैठकमा पार्टीलाई बुझाइएको प्रतिवेदनका बारेमा छलफल हुन्छ,’’ उहाँले भन्नुभयो, ‘‘ती प्रतिवेदन हेरी एकताका लागि निर्णयसमेत गर्दै जानेछौँ ।’’

जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि तल्लो तहको पार्टी एकता तीन महीनाभित्र गरिसक्ने बताइएको थियो । एकताका लागि गठन गरिएका कार्यदलले प्रतिवेदन नबुझाउदा प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकता प्रक्रिया लम्बिएको छ । ती तहको पार्टी एकताका लागि चार सदस्यीय कार्यदल बनेको थियो ।

कार्यदलले भदौ ५ गतेभित्र एकताका लागि प्रतिवेदन पेश गर्ने भने पनि नाम र नेतृत्वमा सहमति हुन नसक्दा प्रतिवेदन पेश गर्न सकेनन् । पुनः सचिवालय बैठकले भदौ ७ गतेसम्म जेजस्तो अवस्थामा त्यही अवस्थामा प्रतिवेदन बुझाउन भनिए पनि कुनै कमिटीले पनि प्रतिवेदन बुझाएका थिएनन् । अहिलेसम्म जनवर्गीय सङ्गठनमा इञ्जिनियरङको मात्र एकता भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News