बिर्तामोडमा ‘मिस्टर एण्ड मिस राजवंशी’ प्रतियोगिता हुने


 


झापा, भदौँ २८

झापाको बिर्तामोडमा ‘मिस्टर एण्ड मिस राजवंशी २०१८’ प्रतियोगिता हुने भएको छ । भिप्रा एड्भरटाइजिङ्ग एण्ड मिडिया प्रालिले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिताको फाइनल राउण्ड आगामी मंसिर १ गते हुनेछ । प्रतियोगिताको लागि छनोट चरणको कार्यक्रम भने यही भदौं ३० गते शनिबारदेखि सुरु हुनेछ । अल्पसंख्यक राजवंशी समुदायका युवायुवतीको प्रतिभा प्रस्फुटन तथा उनीहरुको क्षमता अभिवृद्धिका लागि प्रतियोगिता आयोजना गर्न लागेको भिप्राका मेनेजिङ्ग डिरेक्टर विमल राजवंशीले बताए ।

मिस्टर राजवंशी दोस्रो तथा मिस राजवंशी तेस्रो पटक हुन लागेको हो । यसअघि सन् २०११ र १२ मा सोसियल अग्रनाइजेशन अफ राजवंशी एबोरिजिन्स (सोरा) ले मिस राजवंशी तथा बिएमएलएस ग्रुपले मिस्टर राजवंशीको पहिलो कार्यक्रम आयोजना गरेको थियो । यस पटकको प्रतियोगिता भिप्राले सोराको सहकार्यमा आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा सहभागी हुने युवायुवतीको छनोट चरण तीन चरणमा गर्न लागेको उनले बताए । उनका अनुसार १५ देखि २४ बर्ष उमेर समूहका राजवंशी युवायुवतीले भाग लिन पाउने छन् । ५ फिट उचाई भएका र एसईई उत्तीर्ण गरेकाले प्रतियोगितामा भाग लिन पाउने भिप्राका अध्यक्ष प्रतिमा राजवंशीले बताइन ।

छनोट भएका २५ युवा र २५ युवतीलाई बन्द प्रशिक्षणमा राखिने छ । प्रतियोगिताको उपाधि जित्न सफल भएका मिस्टर एण्ड मिस राजवंशीलाई जनही २५ हजार नगद र अन्य विभिन्न आकर्षक पुरस्कारको व्यवस्था गरेको अध्यक्षले बताईन । प्रतियोगितामा सहभागी भएर विभिन्न चरणमा उत्कृष्ट हुने प्रतियोगितालाई पनि पुरस्कारको व्यवस्था गरेको अध्यक्ष प्रतिमा राजवंशीले बताइन । उनले यस किसिमको प्रतियोगिताले राजवंशी समुदायका युवा पुस्ताको चौतर्फी विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन ।

प्रकाशित मिति: २८ भाद्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्