आमाको काखबाट ९ महिने बालिका अपहरण गरी धानबारीमा लिएर बलात्कार


 


धनगढी, भदौ २९
मानवीय संवेदना नै रहेन भने मानिसमा मानवता नै रहँदैन भन्ने प्रमाण विभिन्न बलात्कारका घटनाहरुले दिइसकेको छ ।

समाजमा भइरहेका कुकृत्यहरु एकपछि अर्को गरि सार्वजनिक भइरहेका छन् । प्रदेश नम्बर ७ कै मात्र पछिल्लो पटकका घटना निर्मला पन्त, माया विक र कविता विष्टको बलात्कार गरि हत्या भएको घटनाले नेपाली समाज कता जाँदैछ भन्ने देखाइसकेको छ ।

यसैबीच अझै बुधबार राति कञ्चनपुरको पुनर्वास नगरपालिकामा एक ९ महिने बालिकामाथि मध्येरातमा आमाकै काखबाट अपहरण गरेर धानबारीमा लिई बलात्कार भएको छ ।

कञ्चनपुरमा निर्मला पन्तको बलात्कार गरि हत्याको घटना सार्वजनिक भएपछि लगातार रुपमा थप बलात्कारका घटनाहरु सार्वजनिक भइरहेका बेला अबोध बालिकामाथि नयाँ शैलीमा बालिका अपहरण गरेर बलात्कार भएको छ ।

जिल्लाको दक्षिणी भेगमा अवस्थित पुनर्वास नगरपालिका वडा नम्बर ८ मा तीज मनाउन माइत आएकी एक महिलाको काखमा सुतिरहेकी अबोध बालिकालाई राति १ बजेको समयमा एक अज्ञात व्यक्तिले उठाएर घरभन्दा करिब एक किलोमिटर टाढा धानबारीमा लिएर बलात्कार गरिएको छ ।

६ वर्ष र आठ वर्षकी दुई बहिनीसंगै आफ्नै काखमा सुताइएकी दुधे बालिकालाई सबै सुतेर सुनसान भएका बेला अज्ञात व्यक्तिले अपहरण शैलीमा उठाएर भागेको बालिकाकी आमाले बताउनुभयो । उहाँकाअनुसार उठाएर भाग्ने बेला बालिका कराएपछि थाहा पाउँदा हो–हल्ला गर्दै त्यो व्यक्तिको पिछा गरेपनि कसैले पक्राउ गर्न सकेनन् ।

उहाँले टाउँकोमा रुमाल बाँधेको र शरीरमा महिलाले लगाउने म्याक्सी लगाएको व्यक्तिले छोरीलाई अपहरण गरेर लिएको बताउनुभयो । घरमा उहाँकी आमा दुई सानी बहिनी, छोरी र आफू मात्रै सुत्नुभएको थियो । घरमा पुरुष कोही पनि थिएन ।

बालिकालाई अपहरण गर्ने वित्तिकै प्रहरीलाई पनि खबर भएर प्रहरी परिचालन भएपनि रातिको समयमा बालिका र अपहरणकारी पक्राउ परेन । ‘रातिको १ बज्नु भन्दा पाँच, दश मिनेट अगाडि घरको ढोको खुल्यो, मैले आमा भनेर बोलाएँ आमाकै जस्तो स्वर हजुर भन्ने आवाज आएपछि आमा नै हुन सोचेँ, त्यतिबेलै ढोका पनि बन्द भयो, अनि म सुतिहालेँ, उहाँले भन्नुभयो, ‘तर, त्यसको केही मिनेटपछि ढोका खोलेर एक म्याक्सी लगाएको मानिसले छोरीलाई उठाएर भाग्यो, छोरीको रोएको आवाज सुनेर म पनि हो–हल्ला गर्दै तुरुन्तै उठेँ, रोडसम्म पिछा पनि गरेँ, तर, त्यो व्यक्तिलाई समात्न सकिन, छोरीलाई लिएर बेपत्ता भयो ।’

उहाँकाअनुसार हो–हल्ला भएपछि टोलका मानिस जम्मा भए । ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट पनि प्रहरी टोली पुगेर स्थानीयसहित बालिकाको खोजतलामा लाग्यो । तर, बालिकालाई रातिको समयमा पाउन सकिएन ।

खोज्दै जाँदा अपहरणमा परेको ६ घण्टापछि घरभन्दा एक किलोमिटर टाढा जनजागरण सामुदायिक वनको उत्तर तर्फ खोला नजिकै धानबारीमा फालिएको अवस्थामा बालिकालाई प्रहरीले उद्दार गरेको हो । राति सुत्ने बेला टाउकोसहित शरीरमा तेल लगाएर लुगा नलगाई सुताइएकी बालिका त्यस्तै, हालतमा धानबारीमा भेटिइन् ।

उद्दार गरेको सात घण्टापछि बलात्कारबारे थाहा भयो
अपहरणमा परेर ६ घण्टापछि उद्दार गरिएकी बालिका बलात्कारमा परेको कुरा भने त्यसको सात घण्टापछि मात्रै परिवारलाई थाहा भयो । त्यसअघि अपहरणपछि बालिका सकुशल उद्दार गरियो भनेर बालिकाका परिवारलगायत सबै खुशी भएका थिए ।

यति मात्रै नभई उद्दार गरिएकी बालिकालाई बिहान कञ्चनपुर प्रहरी प्रमुख एसपी कुबेर कडायतको उपस्थितिमा पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापा, उपमेयर शारदा बिष्ट धामी, पत्रकारलगायतको रहोबरमा आमाको जिम्मा लगाएको थियो । तर, त्यो बेलासम्म कसैले पनि बालिका बलात्कृत भएको कुरा थाहा पाएनन् । प्रहरीले बालिकालाई नाङ्गै अवस्थामै धानबारीबाट उद्दार गरेपनि यसबारे थाहा पाउन सकेन ।

बालिकाको मध्य रातमा अपहरण भएको खबर पाउना साथ कञ्चनपुर प्रहरी प्रमुख एसपी कुबेर कडायत पुनर्वास पुग्नुभएको थियो । एसपी कडायत घटनाबारे अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउने बचन दिँदै महेन्द्रनगर फर्किनुभयो । उहाँसंगै मेयर, उपमयरलगायत सबै आ–आफ्नो बाटो लागे ।

तर, बालिकाका आफन्तले खाना खाएर दिउँसो डेढ बजेतिर बालिकालाई नहाउनेक्रममा मात्रै उनीमाथि बलात्कारसमेत भएको रहस्य खुल्यो । नुहाउनेक्रममा बालिकाको योनीको भित्री भागमा गहिरो चोट देखियो । अगाडि रगत नबगेकै कारण थाहा नपाएका बालिकाका परिवारले उनलाई नुहाउनेक्रममा योनीमा गहिरो चोट देखेपछि तुरुन्तै अस्पाल ल्याए ।

बालिका बलात्कार भएको थाहा पाएपछि ईकाला प्रहरीलाई घटनाबारे खबर गर्दै बालिकाका आफन्तले बालिकालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा पुर्याए ।

तर, सेती अञ्चल अस्पतामा उपचार सम्भव नभएपछि बालिकालाई काठमाडौंको कान्ति बाल अस्पतालमा रेफर गरिएको छ । सेती अञ्चल अस्पतालका डा. राज्य खड्काले बालिकाको योनीमा गहिरो चोट लागेकाले यहाँ सम्भव नभएपछि काठमाडौं रेफर गरिएको जानकारी दिनुभयो ।

उता बालिका अपहरण गरी बलात्कार गरेर धानबारीमा छोडेर भाग्ने व्यक्तिलाई प्रहरीले खोजी कार्य तीब्र पारेको बालिकाका आफन्तसंगै अस्पताल पुगेका प्रहरी जवान विजय रावलले जानकारी दिनुभयो । कञ्चनपुरमा पछिल्लो पटक बलात्कारका घटनाहरु बढ्दै जान थालेका छन् ।

प्रकाशित मिति: २९ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्