फाईनलमा मोरङ एकेडेमी र विर्तामोड युनाइटेड भिड्ने


 


मोरङ, भदौँ २९

विर्तामोड युनाइटेड मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा जारी दोस्रो डाँगीहाट अन्तराष्ट्रिय आमन्त्रण बुद्ध एयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

लक्ष्मीमार्ग स्थित मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा रेड हर्स क्लब इलामलाई ३–२ गोल अन्तरले निराश बनाउँदै विर्तामोड फाइनलमा पुगेको हो । उपाधि दावेदार बनेको डिफेन्डीङ च्याम्पियन विर्तामोडले शनिबार फाइनलमा मोरङ फुटबल एकेडेमीको सामना गर्नु पर्ने छ । रोमाञ्चक खेललाई आफ्नो पक्षमा पारेको विर्तामोडको जितमा रोशन थम्स्वाङ, गणेश हेमरन र संजय धिमालले गोल गरे । दर्शन गुरुङ र अनिल तिमल्सिनाले एक÷एक गोल फर्काए पनि इलामले जित निकाल्न भने सकेन ।

फिनिसिङ फितलो हुँदा इलामको फाइनल यात्रामा पूर्णविराम लाग्यो । काउन्टर एट्याकमा जम्न नसकेको मौकाको फाइदा उठाउँदै विर्तामोडले उसलाई उपाधि नजिक पुग्नबाट रोक्यो । खेलको १४ औं मिनेटमै विर्तामोडका रोशन थम्स्वाङले गोलको खाता खोलेर टिमलाई अग्रता दिलाउँदा इलाम दवावमा पर्यो । इलामका गोलरक्षक दिपान्छु राउतले क्लियर गर्न नसकेको खेलको म्यान अफ दी म्याच रोशनले पोष्टको दिशा दिएका थिए । त्यसको १२ मिनेटपछि नै विर्तामोडले अग्रता दोब्बर बनाउँदा इलाम थप दवाव झेल्न बाध्य भयो ।

२६ औं मिनेटमा गणेश हेमरनले प्रहार गरेको बलले इलामका गोलरक्षक राउतको हातमा ठोक्किंदै पोष्टको दर्शन पाउँदा खेल २–० को अवस्थामा पुग्यो । मध्यान्तरपछिको इन्जुरी समयमा वान भर्सेस वानको स्थितीमा गोल थप्दै संजय धिमालले विर्तामोडलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले ।
इलामका तर्फबाट भने दुबै गोल मध्यान्तरपछिको इन्जुरी समयमा मात्रै सम्भव भएको हो । दर्शन गुुरुङले उत्कृष्ट गोल फर्काएर इलामलाई सान्त्वना दिलाउने प्रयास गरे । खेलको अन्तिम समयमा अनिल तिमल्सिनाले गोल अन्तर घटाएर खेललाई ३–२ को स्थितीमा ल्याए पनि इलामले जित निकाल्न सकेन । विकास बुढाथोकीले मिलाई दिएको बललाई तिमल्सिना वान भर्सेस वानको स्थितीमा गोल गर्न चुकेनन् ।
१९ औं मिनेटमा हिसव थपलियाले मिलाइदिएको पासमा विकास बुढाथोकी ढिलो हुँदा इलामले खेलमा फर्कने अवसर गुमाएको थियो ।

३० औं मिनेटमा दर्शन गुरुङको सिधा प्रहारलाई विर्तामोडका गोलरक्षक मीन बस्नेतले उत्कृष्ट ढंगबाट बचाउँदा पहिलो हाफमा इलामले गोल फर्काउन सकेन । मध्यान्तरपछि केही सुधारिएको प्रदर्शन गरिरहेको अवस्थामा अनिल तिमल्सिनाको प्रहारलाई ८३ औं मिनेटमा विर्तामोडका खेलाडीले क्लियर गरिदिंदा इलाम अभागी ठहरियो । इन्जुरी समयमा विशाल राईको प्रहारमा गोलरक्षक बस्नेत बाधक बन्नु इलामका लागि दुर्भाग्यपूर्ण बन्यो ।

लक्ष्मण चौधरी वान भर्सेस वानको स्थितीमा चुक्दा १० औं मिनेटमै विर्तामोडले अग्रता लिने अवसरको सदुपयोग गर्न सकेन । २० औं मिनेटमै विर्तामोडका पृथ्वी चौधरीको हेडिङ प्रहारले पनि विपक्षी बार तोड्न सकेन । २५ औं मिनेटमै लक्ष्मण चौधरीको प्रहारमा पनि इलामका गोल रक्षक राउत बाधक बने । ४५ औं मिनेटमा आशिष चापागाईको प्रहारलाई पनि राउतले क्लियर गर्न सफल हुँदा पहिलो हाफमा तेस्रो गोल हुनबाच बच्यो । ८२ औं मिनेटमा संजय धिमालले वान भर्सेस वानको स्थितीमा गरेको सशक्त प्रहारलाई गोल रक्षक राउतले उत्कृष्ट ढंगबाट बचाए । प्रतियोगिताको फाइनल खेल विर्तामोड र मोरङ एकेडेमीबीच शनिबार हुने छ ।

प्रकाशित मिति: २९ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्