सङ्घीयता विकास र समृद्धिको आधारः मुख्यमन्त्री राई


 


विराटनगर, भदौँ २९

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सङ्घीयता देश विकास र समृद्धिको आधार भएको बताउनुभएको छ । निर्माण व्यवसायी महासङ्घ प्रदेश नं १ को १२ औँ साधारणसभाको आज बिराटनगरमा उद्घाटन गर्दै उहाँले भन्नुभयो, “सबैको साझा सङ्कल्पका रुपमा रहेको विकास र समृद्धिलाई मूर्तरुप दिन सङ्घीयताको संस्थागत विकासमा सबै पक्ष लाग्नुपर्दछ ।”

मुख्यमन्त्री राईले जनताको चाहना र भावना पूरा गर्न बनेको स्थिर सरकारले समृद्धिको यात्रा तय गर्ने उल्लेख गर्दै विकासका संरचना कोर्ने र तीनै तहको सरकारबीच समन्वय तथा सहकार्य गर्नेतर्फ सङ्घीय सरकार केन्द्रित रहेको बताउनुभयो ।

“मुलुकको विकास र समृद्धिका लागि राजनीतिक दलमात्र होइन, सबैले आफूलाई रुपान्तरित गर्नुपर्छ, उहाँले भन्नुभयो”, “विगतदेखि नै विकासका अनेकौँ योजनामा अर्बौं रकम खर्च भए तर त्यो नतिजामुखी देखिएन्, अब राष्ट्रलाई ठग्ने अनुमति कसैलाई पनि छैन् ।”

मुख्यमन्त्री राईले प्रदेश सरकारले शून्य अवस्थामा बसेर तत्काल काम गर्ने वातावरण सिर्जना गरेको बताउँदै देश र सङ्घीयतालाई सफल बनाउन निर्माण व्यवसायीको काँधमा ठूलो जिम्मेवारी रहेको धारणा व्यत्तः गर्नुभयो ।

निर्माण व्यवसायी उद्योगी हुन र यसको मान्यता दिन आफू सकारात्मक रहेको बताउँदै उहाँले देश बनाउने एजेण्डामा कुनै पनि कानून बाधक नहुने स्पष्ट पार्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट प्रदेशसभाका प्रमुख सचेतक बुद्धि राजभण्डारीले निर्माण व्यवसायीले कसैको दबाब र करकापमा आउन नहुने सुझाव दिनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले निर्माणमा लाग्ने यो व्यवसायमा कुनै समस्या परेमा त्यसको समाधानका लागि आफू सहयोग गर्न तयार रहेको बताउनुभयो ।

आयोजक महासङ्घका अध्यक्ष मोहनप्रसाद अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले मुलुकको विकासका लागि निर्माण व्यवसायीको भूमिकाका विविध पक्षमाथि प्रकाश पार्नुभयो । रासस

प्रकाशित मिति: २९ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्