यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय


 


काठमाडौँ, २९ भदौ

सरकारले नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसद्समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विशेष सेवा गठन, सञ्चालन र सेवा सर्त व्यवस्था गर्न बनेको विधेयक, २०७५ को तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

बैठकले अन्तर्राष्ट्रिय आणविक ऊर्जा सङ्गठनको ६२औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ ।

त्यस्तै रक्षा मन्त्रालय मातहत रहेको नेपाली सेनाको तालीमसम्बन्धी विभिन्न निर्णय गरेको मन्त्री अधिकारीले जानकारी दिनुभयो ।

बैठकले नारायणहिटी सङ्ग्रहालयसहित पुरातत्व विभाग मातहतका विभिन्न सङ्ग्रहालयको संरचना र दरबन्दी स्वीकृति गरेको छ । कर्मचारी प्रशिक्षण प्रतिष्ठानलाई खारेज गरी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मिलान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

मन्त्रिपरिषद्ले प्रहरी पाँचौँ संशोधन नियमावली एवं कर्णाली प्रदेश र गण्डकी प्रदेशका मुख्यमन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको छ । सरकारले नेपाल वायु सेवा निगमको सञ्चालक समितिको सदस्यमा मदन खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: २९ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्