कञ्चनरुप स्वाइन फ्लु र हङकङ फ्लुग्रस्त विपद् क्षेत्र घोषणा


 



राजविराज, भदौ ३०
सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रलाई प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि विपद् क्षेत्र घोषणा गरिएको छ । यहाँ स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोप फैलिएको छ ।

सो क्षेत्रमा केही दिनदेखि रुघाखोकी र ज्वरोका बिरामीमा ‘एचवानएनवान’ (स्वाइन फ्लु) र ‘एचथ्रिएनटु’ (हङकङ फ्लु) को भाइरस फेला परेको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको आकस्मिक बैठकले स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामीको र्याल परीक्षण गरी उनीहरूमा स्वाइन फ्लु र हङकङ फ्लु भएको पुष्टि गरेपछि कञ्चनरुप नगरपालिकालाई विपद् क्षेत्र घोषणा गरिएको नगरपालिका प्रमुख वसन्त मिश्रले जानकारी दिनुभयो ।

उक्त रोगका कारण कञ्चनरुप नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका पाँचको मृत्यु भएको उहाँले बताउनुभयो ।

सो रोगबाट कञ्चनरुप नगरपालिका–४ की ६० वर्षीया भालसरदेवी सरदारको विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा र महदेवा गाउँपालिका–१ का ८ वर्षीय बालक महफुल आलमको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

यस्तै कञ्चनरुप नगरपालिका–७ का १४ वर्षीय दिवश बस्नेत, ३ का १४ वर्षीय किशोर राम र ९ का १४ वर्षीय आमोदकुमार रामको मृत्यु भएको थियो ।

भदौ २४ देखि तीन दिनसम्म सञ्चालन गरिएको हेल्थ क्याम्पमा जम्मा एक हजार ९२ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । जसमध्ये २४ को रगत, ¥याल परीक्षणका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । रासस

प्रकाशित मिति: ३० भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्