पाँच करोडको कपास गोदाममै थन्कियो


 


बाँके, भदौ ३०
कपासको व्यावसायिक उत्पादन घट्न थालेसँगै बाँकेमा कपासखेती उजाडजस्तै बनेको छ ।

कपास विकास समिति खजुराले प्रशोधन गरी बिक्रीका लागि तयार पारेको २१३ मेट्रिकटन कपास अहिले पनि गोदाममै थन्किएको छ । प्रशोधन गरिएको उक्त कपास उचित बजार अभावका कारण यसरी गोदाममै थन्किन पुगेको हो ।

विगत चार वर्षदेखि कपास बिक्री नभएपछि समितिको गोदाममा अहिले रु पाँच करोड मूल्यको कपास थन्किएको कपास विकास समिति खजुराका निमित्त प्रमुख विजयकुमार जोशीले बताउनुभयो ।

एक मेट्रिकटन बराबर रु दुई लाख १८ हजार मूल्य रहेको रेशा कपास गोदाममै थन्किँदा अहिले समितिलाई करीब रु पाँच करोडको घाटा भएको छ ।

कपास समितिले उत्पादन गरेको कपास हेटौँडा कपडा उद्योग तथा बुटवल धागो उद्योगले खरिद गर्दै आएका थिए । ती दुवै उद्योग बन्द भएपछि समितिले उत्पादन गर्ने कपासको बिक्रीमा समस्या देखिएको छ । लामो समयदेखि गोदाममै कपास थन्किएका कारण उक्त कपास गुणस्तरहीन हुँदै गइरहेको छ ।

उहाँका अनुसार भारतीय कपासले नेपाली बजार ओगटेका कारण पनि स्थानीय तहमा उत्पादन भएको कपास समयमै बिक्री हुन नसकेको हो । रासस

प्रकाशित मिति: ३० भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्