समयसीमाभित्रै विकास निर्माणको काम सक्न प्रधानमन्त्रीको निर्देशन


 


काठमाडौँ, भदौँ ३०

प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयसीमाभित्रै विकास निर्माणका काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ । नेपाल निर्माण व्यवसायी सङ्गठनले आज यहाँ आयोजना गरेको एकता घोषणा समारोहलाई सम्बोधन गर्दै उहाँले तोकिएको समयमा काम नगर्ने प्रवृत्तिले मुलुकको हित नगर्ने र आर्थिक समृद्धिका लागिसमेत मार्गप्रशस्त गर्न नसक्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई ठेक्का दिँदा सरकारले पहिलो प्राथमिकतामा राख्ने घोषणा पनि गर्नुभयो । उहाँले मुलुकलाई समृद्ध बनाउने अभिभारा निर्माण व्यवसायीको काँधमा आएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न प्रतिबद्ध भएर लाग्नसमेत निर्माण व्यवसायीलाई सचेत गराउनुभयो ।

निर्माण व्यवसायीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री ओलीले सरकारले मुलुकको आर्थिक समृद्धिका लागि सम्पूर्ण शक्ति परिचालन गर्ने उल्लेख गर्नुभयो । उहाँले सरकारले शुरु गरेका विभिन्न रचनात्मक कार्यहरुले गति लिने बेला आएको पनि स्पष्ट पार्नुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायमा रहेको कमजोरी हटाएर समयमै गुणस्तरीय काम गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारका तर्फबाट कर्मचारी प्रशासनमा रहेको कमजोरी, ऐन कानूनले पारेको प्रभावलगायतका समस्या समाधानका लागि सरकारले सकारात्मक पहल गर्नेछ ।”

आन्तरिकरुपमा नै निर्माण व्यवसायभित्र रहेको समस्या समाधान गरेर सुरक्षित र स्वच्छ वातावरण नबनाउँदासम्म विदेशी लगानीकर्ता र निर्माण व्यवसायीलाई भित्र्याउन नसकिने भएकाले आफूहरु त्यसका लागि सकारात्मक रहेको अध्यक्ष दाहालको भनाइ छ । रासस

प्रकाशित मिति: ३० भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्