डाँगीहाट गोल्डकपको उपाधि मोरङ एकेडेमी उर्लाबारीलाई


 


मोरङ, भदौँ ३०

मोरङ फुटबल एकेडेमी उर्लाबारीले दोस्रो अन्तराष्ट्रिय आमन्त्रण डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मोरङको बेलबारी नगरपालिका ११ स्थित लक्ष्मीमार्गको खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा साविक विजेता विर्तामोड युनाइटेडलाई ६–० को फराकिलो गोल अन्तरले निराश बनाउँदै मोरङले उपाधि रक्षा गरेको हो ।

साविक उपविजेता मोरङको जितमा कर्ण लिम्बू एक्लैले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे । उत्कृष्ट खेल पस्किएको मोरङको सनसनीपूर्ण जितमा निशान लिम्बू, शौजन राई र विदेशी खेलाडी पेन्कले एक/एक गोल गरे । गोल्डकप उपाधि चुम्न सफल बनेको मोरङले यस गोल्डकपलाई पहिलो डाँगीहाट गोल्डकपको फाइनलमा विर्तामोडसंगै बेहोरेको हारको बद्ला लिने अवसरका रुपमा सदुपयोग गर्यो ।

खेलको सुरुवातदेखि नै तालमेल गुमाएको विर्तामोडलाई रोकेको मोरङले अन्तिम समय सम्म कुनै मौकै दिएन । एक पक्षीय खेल खेलेको मोरङले पाएका अवसरको सदुपयोग गर्दा सहज जित निकाल्न सक्दा उपाधिसंगै दुई लाख २२ हजार दुई सय २२ रुपैयाँमा प्राप्त गर्यो । उपविजेता विर्तामोडले एक लाख ११ हजार एक सय ११ रुपैयाँमै चित्त बुझायो । सुरुवातमै झापा विरुद्ध दवाव सिर्जना गरेको मोरङले खेलको ५ औं मिनेटमै पहिलो गोल गरेको थियो । विदेशी खेलाडी पेन्कको प्रहारमा बाधक बनेपछि विर्तामोडका गोलरक्षक मीन बस्नेत अलमलमा परेको फाइदा लिंदै निशान लिम्बूले गोलको खाता खोलेर टोलीलाई अगाडि बढाए । त्यसको एक मिनेट पनि वित्न नपाउँदै मोरङले गोल थप्दा खेल २–० मा पुग्यो ।

६ औं मिनेटमा कर्ण लिम्बूले गोल थप्दा विर्तामोड थप दवाव झेल्न बाध्य भयो । आफ्नै प्रहार दोस्रो बारमा लागेर रिवाण्ड भएपछि कर्णले नै हेड गर्दै बललाई जाली चुमाए । ३८ औं मिनेटमा विवेक पौडेलको पास लिएर एक्लै अघि बढेका शौजन राईले वान भर्सेस वानको स्थितीमा बललाई पोष्टको दिशा दिंदा पहिलो हाफमा विर्तामोड ३–० गोल अन्तरले पछि पर्यो ।

खेलको ५६ औं मिनेटमा विर्तामोडका गणेश हेमरनले डिबक्स भित्र कर्ण लिम्बूलाई गलत ट्याकल गरेपछि रेफ्री श्याम दनुवार मोरङलाई पेनाल्टीको अवसर दिन चुकेनन् । विदेशी खेलाडी पेन्कले पेनाल्टी सुटआउट अवसरको सदुपयोग भने गर्न सकेनन् । उनको प्रहार पहिलो बार हुँदै बाहिरिंदा मोरङको ४–० गोल अन्तरले अघि बढ्ने अवसर खेर गयो । गणेशले पहेंलो कार्ड समेत पाए ।

निशान लिम्बूको पासका कर्णले बललाई जारी चुमाउँदा ५९ औं मिनेटमा मोरङ ४–० ले अघि बढ्यो । ६४ औं मिनेटमा विवेक पौडेलको क्रस पासमा एक्लै बल लिएर अघि बढेका कर्ण लिम्बूले बललाई पोष्टको दर्शन गराउँदै व्यक्तिगत तीन गोल गर्दा खेल ५–० मा पुग्यो । तेस्रो गोलसंगै कर्णले ह्याट्रीक पूरा गरे । मध्यान्तरपछिको इन्जुरी समयमा सुरज राईको पासमा विदेशी खेलाडी पेन्कले गोल गरेर आफ्नो टिमलाई ६–० को फराकिलो गोल अन्तरले जित दिलाए ।

पाएका अवसरलाई खेर फाल्दा विर्तामोड गोल विहीन बन्न पुग्यो । ३४ औं मिनेटमा रोशन थाम्स्वाङको पासमा लक्ष्मण चौधरी चुक्दा पहिलो हाफमा विर्तामोडले गोल फर्काउन सकेन । मध्यान्तरपछि केही सुधारिएको प्रदर्शन गरेको विर्तामोडका नानी लिम्बूले ४८ औं मिनेटमा गोल गर्न सकेनन् । आशिष चापागाईको पासमा खाली पोष्टमा लिम्बू चुक्दा विर्तामोड अभागी ठहरियो । खाली पोष्टमा ५१ औं मिनेटमा आशिष चापागाईको प्रहार मोरङका जीवन धामीले क्लियर गरिदिएर आफ्नो टिम विरुद्ध गोल हुनबाट जोगाए । ७० औं मिनेटमा आशिष चापागाईले वान भर्सेस वानको स्थितीमा गोल गर्न नसक्दा विर्तामोडले सान्त्वना गोल गर्ने अवसर पनि गुमायो ।

शनिबारको खेलको म्यान अफ दी म्याच मोरङका जीवन धामी घोषित भए । गोल्डकप प्रतियोगिताको म्यान अफ दी सिरिज मोरङका विवेक पौडेलले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । मोरङका किशोर गिरी उत्कृष्ट गोलरक्षक बने । सर्वाधिक गोलकर्ता र उत्कृष्ट स्ट्राईकरको उपाधि कर्ण लिम्बूले प्राप्त गरे । लिम्बूले प्रतियोगिता भर चार गोल गरे । बेष्ट डिफेन्सको उपाधि मोरङका प्रवेष दनुवारले पाए । उदियमान खेलाडी आयोजक डाँगीहाट गोल्डकपका मनिष राई र मिडफिल्डर मोरङकै संजोग राई घोषित भए । उत्कृष्ट प्रशिक्षक मोरङका संजीव बुढाथोकी बने । विजेता टिम र खेलाडीलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, आयोजक समितिका अध्यक्ष विक्रम राई लगायतले पुरस्कार वितरण गरे ।

प्रकाशित मिति: ३० भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्