“स्थानीय तहमा मनपरी रुपमा सहकारी ऐन निर्माण”


 


मोरङ, भदौँ ३०

नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड (नेफ्स्कुन)का कोषाध्यक्ष केशवप्रसाद पोख्रेलले स्थानीय तहहरुमा मनपरी रुपमा सहकारी ऐन निर्माण भईरहेको बताउनु भएको छ ।

आज उर्लाबारी – ७ स्थित महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथी पोख्रेलले अधिंकाश स्थानीय तहहरुले सहकारीको प्रबद्र्धन र हितमा ऐन निर्माण नगरेको बताउनुभयो । उहाँले स्थानीय तहहरुले सहकारी क्षेत्रका संचालक र बिज्ञहरुको सुझाब र सल्लाहका आधारमा ऐन निर्माण गर्नुपर्ने बताउनुभयो ।

देश संघियतामा गएपछि सहकारीहरुको अनुगमन र नियन्त्रण गर्ने अधिकार स्थानीय तहहरुमा पनि आएकाले अब स्थानीय तहले पनि सहकारीको प्रबद्र्धन र विकाशका लागि कार्यक्रमहरु ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । साधारणसभामा सूर्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड उर्लाबारीका अध्यक्ष तेजनाथ घिमिरे, हाम्रो बचत तथा ऋण सहकारी संस्था उर्लाबारीका अध्यक्ष डिबी थापा, नारी शृजना बचत तथा ऋण सहकारी संस्था लिमिटेड उर्लाबारीकी अध्यक्ष भगिरथा अधिकारीले संस्थाको प्रगतिको शूभकामना मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा सामाजिक क्षेत्रमा योगदान पुर्याएबापत आमा मिलन केन्द्र उर्लाबारीकी अध्यक्ष अमृता राईलाई सम्मान् गरिएको थियो भने नियमित बचतकर्ता दुर्गादेवी घिमिरे, लक्ष्मी घिमिरे, असल ऋणी सरिता राई, कुमारी भुजेल, जानुका ढकाल र उत्कृष्ट कर्मचारीका रुपमा सुजता फुँयाललाई पुरस्कृत गरिएको थियो । सोही अवसरमा कक्षा १२ को परीक्षामा शेयर सदस्यका छोराछोरी मध्ये उत्कृष्ट अंक ल्याउने सबिना लिम्बु र उदय भट्टराईलाई नगद जनही रु १५ सय र प्रशंसा पत्रबाट पुरस्कृत गरिएको थियो ।

संस्थाको शेयर पुँजी रु ५५ लाख १९ हजार, कोष हिसाब रु तीन लाख १ हजार ४८९ र बचत रु तीन करोड २४ लाख ८९ हजार ३४१ रहेको प्रस्तुत बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । साधारणसभा संस्थाकी अध्यक्ष बिद्या चाम्लिङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: ३० भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्