अटवारी पर्वको अवसरमा आज प्रदेश ७ मा सार्वजनिक विदा


 


धनगढी, भदौ ३१
हरेक वर्ष भाद्र शुक्लपक्षको प्रथम आइतबारका दिन थारु समुदायले मनाइने बरका अटवारी पर्वको अवसरमा आज प्रदेश ७ मा सार्वजनिक विदा दिइएको छ ।

पर्वको अवसरमा मुख्यमन्त्री त्रिलोचन भट्टले थारु समुदायको मौलिक एवं महत्वपूर्ण पर्व अटवारीको थारु समुदायलगायत सम्पूर्ण प्रदेशवासीलाई शुभकामना प्रदान गर्नुभएको छ ।

यो पर्व थारु समुदायमा दाजुभाइले आफ्ना दिदीबहिनीहरुको दीर्घायु र सौभाग्यको कामना गर्दै दिनभर पानी समेत नपिई व्रत बस्ने चल्न रहेको छ ।

थारु समुदायले अटवारी पर्वमा साँझपख पुरुषद्वारा नै गुइँठाको आगोमा सल्लाको धूप बनाई बालेर भीमको पूजा गर्ने गर्दछन् । व्रतपछि व्रतालुहरुले पकाएका पकवान र फलफूल अग्नि देवतालाई अर्पण गर्ने र देवतालाई अर्पण गरे पश्चात बनाएको सामाग्री मध्ये दिदीबहिनीलाई केही भाग छुट्याई बचेको बाँकी भाग व्रतालुले खाने गर्छन् ।

व्रत बसेको साँझपख बहरी भन्ने कोठामा गाईको गोबरले लिपपोत गरी गन्यारी भन्ने काठबाट तीन चारजना मिली आगो बाली पवित्र रोटी र परिकार पकाउने यो पर्वको चलन रहेको छ ।

रोटी र परिकार बनाउने ठाउँमा व्रतालु बाहेक अन्यलाई जान र छुन समेत दिइदैन । पकाएको रोटीसँगै अन्य पकवानलाई व्रतालु सबैको भागसँगै अर्को भाग छुट्याउने गरिन्छ जसलाई अग्रासन भन्ने गरिन्छ ।

छुट्याएर राखेको खानेकुरा भोलीपल्ट सोमबार आफ्ना दिदीबहिनीहरुलाई दिने चलन थारु समुदायमा रहेको छ । अग्रासन दिएर फर्कने क्रममा दिदीबहिनीले दाजुभाइलाई उपहार दिने गर्छन् ।

अटवारीको दोस्रो दिन फुलौरी, केराउ, पटौला, ठच्चा लगायतका पकवान र माछाको सिद्रा व्रतालुले ग्रहण गर्ने गर्छन् । यो पर्वलाई थारु समुदायमा दशैँपछिको ठूलो पर्वका रुपमा मानिन्छ ।

प्रकाशित मिति: ३१ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्