फिलिपिन्समा विध्वंस मच्चाएको आँधी चीन पुग्यो


 


एजेन्सी, असोज १

फिलिपिन्समा ५९ जनाको ज्यान लिने गरी विध्वंस मच्चाएको म्याङ्खुट नामक शक्तिशाली आँधी हङकङ हुँदै चीन पुगेको छ । आँधीले चीनको सबैभन्दा धेरै जनसंख्या भएको ग्वाङडुङ प्रान्तलाई प्रभावित पारेको छ ।

प्रतिघण्टा १६२ किलोमिटरको गतिमा चलेको आँधीले त्यहाँको जनजीवनलाई अस्तव्यस्त बनाइरहेको छ । उक्त आँधी जेङमेन शहर नजिकै चिनियाँ तटबाट प्रवेश गरेको संचारमाध्यमहरुले जनाएका छन् । आँधी प्रवेश गरेपछि ग्वाङडुङबाट हजारौं मानिसलाई हटाइएको छ ।

अधिकारीहरुले उच्च सतर्कता जारी गरेका छन् । मानिसहरुलाई घरभित्रै बस्न आग्रह गरिएको छ । आँधीसँगै भारी वर्षासमेत भएको छ ।

म्याङ्खुट आँधीलाई सन् २०१८ कै शक्तिशाली मानिएको छ । आँधीले हङकङलाई समेत तहसनहस पारेको थियो । हङकङका गगनचुम्बी घरहरु नै हल्लाइदिएको थियो भने भ्यालहरु उडाइदिएको थियो ।

प्रकाशित मिति: १ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्