संविधानले सबैको संरक्षण गरेको छ : मुख्यमन्त्री राई


 


विराटनगर, असोज ३

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधानले सबै भाषा, संस्कृति, परम्परा, धर्मको संरक्षण र सम्वद्र्र्धन गरेको बताउनुभएको छ ।संविधान दिवस २०७५ को अवसरमा प्रदेशस्तरीय संविधान दिवस मूल समारोह समिति, प्रदेश नं १ विराटनगरद्वारा आज शहीद रङ्गशालामा आयोजित भव्य समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले विभिन्न जातजाति र समुदायको विशिष्ट अवस्थालाई ध्यानमा राखी तिनीहरुको हितको प्रवद्र्धन र पैरवीका लागि छुट्टै व्यवस्था संविधानमा भएको जानकारी दिँदै सामाजिक न्याय प्राप्तिका दिशामा संविधानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गर्नुभयो ।

मूल समारोह समितिको संयोजकसमेत रहनुभएका मुख्यमन्त्री राईले प्रदेशवासी जनताको विकास र समृद्धि, सुशासन र सम्मानको चाहनालाई मूर्तरुप दिन प्रदेश सरकार संवेदनशील छ भन्नुभयो ।

सो अवसरमा प्रदेश प्रमुख प्रा डा गोबिन्दबहादुर तुम्वाहाङको पनि उपस्थिति थियो । कार्यक्रमको प्रारम्भमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय सेवा दल, खेलाडी, बाल क्लब, विभिन्न विद्यालयका विद्यार्थी, सङ्घसंस्था, विभिन्न जातजातिका संस्कृति झल्किने झाँकी प्रस्तुत गरिएको थियो । रासस

प्रकाशित मिति: ३ आश्विन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्