विर्तामोड–भद्रपुर सडक चार लेनको बन्दै


 


झापा, असोज ३

झापामा पहिलोपटक विर्तामोड–भद्रपुर सडक खण्ड चार लेनको निर्माण शुरु भएको छ । सडक डिभिजन कार्यालय दमक र विर्तामोड नगरपालिकाको पहलमा ४ दशमलव ७ किलोमिटर लामो सो सडकलाई कालोपत्र गर्दै स्तरोन्नति गर्ने काम शुरु भएको हो ।

रु २७ करोडको लागतमा उक्त सडकको स्तरोन्नति २०७६ पुस मसान्तभित्र सम्पन्न गर्ने गरी आशिष प्रेरा जेभीका सञ्चालक राजकिशोर गुप्ताले ठेक्का लिनुभएको सडक डिभिजन कार्यालय दमकका इञ्जिनीयर माधव पौडेलले जानकारी दिनुभयो । अस्तव्यस्त हुँदै गएको विर्तामोडदेखि सदरमुकाम भद्रपुर जोड्ने मुख्य मार्गको स्तरोन्नतिको काम शुरु भएसँगै अब विकासका कामले गति लिन थालेको विर्तामोड नगरपालिका प्रमुख धु्रवकुमार शिवाकोटीले बताउनुभयो ।

विर्तामोड–भद्रपुर सडकखण्डअन्तर्गत २ दशमलव ८ किलोमिटर सडक चार लेनको बनाइने र बाँकीलाई दुई लेनअन्तर्गत फराकिलो बनाइने इञ्जिनीयर पौडेल बताउनुहुन्छ । ठेकेदार गुप्ताले तोकिएको समयमा काम सम्पन्न गर्ने बताउनुभयो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडदेखि सदरमुकाम भद्रपुरसम्मको सडकखण्ड भत्किएको वर्षौं बिते पनि बन्न सकेको छैन । एशियाली विकास बैंक ९एडिबी०को सहयोगमा तीन वर्ष अघि नै उक्त सडक निर्माणको ठेक्का सम्झौता गरिएको थियो । ठेकेदार कम्पनी ‘थोदुङ–लोहनी–सिंह एण्ड ब्रदर्श जेभी’ले सम्झौताबमोजिम काम नगरेपछि सडक निर्माण ओझेलमा परेको थियो । रासस

प्रकाशित मिति: ३ आश्विन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्