अन्सारीको हत्यापछि सुनसरीमा भारतीय नाका शिल



सुनसरी, असोज ४

सुनसरीको हरिनगरा नगरपालिकास्थित भुटाहामा अपरिचित समूहको गोली लागेर स्थानीयको मृत्यु भएपछि सुनसरीसँग सीमा जोडिएका सबै भारतीय नाका शिल गरिएको छ ।

हत्यारा भारततर्फ फरार भएको सूचनाका आधारमा सीमानाका शिल गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिनुभयो । घटनामा भारतीयको संलग्नताको आशंका गरिएपनि यकिन भने हुन नसकेको सुनसरी प्रहरीले जनाएको छ । भारतीय नम्बर प्लेट भएको मोटरसाइकलमा सवार समूहले गोली प्रहार गरेको बताइएपनि स्थानीयका अनुसार नम्बर बिनाको अपाची मोटरसाइकलमा सवार व्यक्तिले मौलाना खुर्शिद अन्सारीमाथि गोली प्रहार गरेका हुन् ।

टाउको र छातीमा गरी तीन गोली लागेका खुर्शिदको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि भागेको समूहलाई स्थानीयले छेक्ने प्रयास गरेपनि हत्यारा समूह उम्कन सफल भएको बताइएको छ । भाग्ने क्रममा सोही समूहले घुस्कीमा प्रहरीमाथि समेत गोली प्रहार गरेको छ । मोटरसाइकल रोक्न पुगेका प्रहरी टोलीमाथि गोली प्रहार भएको छ ।

गोलीलागि प्रहरी जवान शिवलाल पौडेल घाइते भएका छन् । घुँडा र कम्मरमुनि गोली लागेको पौडेललाई उपचारका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको सुनसरी प्रहरीले जनाएको छ । यता मृतकका आफन्तसहित भुटाहावासीले टायर बालेर प्रर्दशन चर्काएका छन् । शव सडक किनारमा राखेर स्थानीयले हत्यारा पक्राउ गरी कार्वाहीको माग गरेका छन् । स्थानीय बजार तथा पसल बन्द गरी प्रर्दशनमा उत्रिएका छन् । सो क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News