सेती अञ्चल अस्पतालमा औषधि अभाव, सिटामोल पनि छैन !


 


अंकुश कुँवर
धनगढी, असोज १०

धनगढीस्थित सेती अञ्चल अस्पतालमा सञ्चालित फार्मेसीमा फेरि औषधि अभाव भएको छ । पटक–पटक औषधि अभाव हुँदै आएको अस्पतालको फार्मेसीमा पुनः औषधि अभाव भएको हो ।

फार्मेसीमा भनेजति औषधि नभएपछि सेवाग्राहीहरुलाई औषधि किन्न बाहिरका मेडिकलहरु धाउनुपर्ने बाध्यता फेरि सृजना भएको छ ।

अस्पतालका विरामीलाई सस्तो र शुलभ रुपमा औषधि उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको फार्मेसीले अझै सबै खाले औषधि आपूर्ति गर्न सकेको अवस्था छैन । अहिले अस्पतालमा ल्याउने गरेका केही औषधिहरुसमेत पाउन छोडेको छ । अस्पताललाई औषधि दिने यशोदा फार्मेसीसंग असारमै सम्झौता सकिएको छ ।

अस्पतालले त्यसपछि टेण्डर आव्हान गरेपनि प्रक्रिया नपुग्दा स्थिगित हुन पुग्यो । अहिले फेरि नयाँ टेण्डरको प्रक्रिया चलिरहेको छ । अस्पतालमा समयमै टेण्डर खोलेर औषधि ल्याउन नसक्दा अहिले अस्पतालको फार्मेसीमा औषधिको अभाव भएको छ । औषधि अभाव भएपछि सेवाग्राही महंगोमा अस्पताल बाहिरको मेडिकलमा गएर औषधि किन्न बाध्य भएका छन् ।

फार्मेसीमा औषधि नपाएपछि बाहिर मेडिकलमा गएर औषधि किन्न परेको धनगढी वडा नम्बर ७ का रतन खातीले बताउनुभयो । ‘आमाको लागि डाक्टरले चारवटा औषधिको नाम लेखेर दिनुभयो,’ फार्मेसीमा औषधि लिन जाँदा जम्मा दुइवटा मात्रै पाइयो, दुइवटा औषधि बाहिरैबाट किनेर ल्याएँ ।’ उहाँले भन्नुभयो, ‘अस्पतालले दिने सेवा झन खस्किदै गएको बताउनुभयो । उहाँले अस्पताल प्रदेश मातहतमा गएपछि प्रगति हुनुपर्नेमा झन दुर्गति हुँदै गइरहेको बताउनुभयो ।

यस्तै समस्या अत्तरियाका मनोज बडुले पनि भोग्नुभयो । उहाँले पनि डाक्टरले लेखिदिएका सबै औषधि फार्मेसीमा नपाएर बाहिर मेडिकलमा गएर किन्नुपरेको बाध्यता सुनाउनुभयो । यस्तो समस्या उहाँहरु दुई जनाले मात्रै नभई अहिले सबै सेवाग्राहीले भोगिरहेका छन् ।

फार्मेसीका सहायक प्रमुख प्रवास प्रधानले अहिले फार्मेसीमा औषधि धेरै अभाव भएको बताउनुभयो । ‘अहिले औषधि धेरै अभाव छ,’ उहाँले भन्नुभयो, ‘अझै एक महिनायता औषधि आउला जस्तो छैन, औषधि खरिदका लागि टेण्डर खोलिएको छ ।’

फार्मेसीमा औषधि नभएपछि त्यहाँ कार्यरत कर्मचारीहरु पनि अप्ठेरामा परेका छन् । औषधि किन्न आउने केही ग्राहकरु औषधि नपाएपछि गाली दिएरसमेत जाने गरेका छन् । औषधि दिन नसकेपछि सेवाग्राहीहरुबाट दैनिक गाली खानुपर्ने बाध्यता रहेको उनीहरु स्वयम बताउँछन् ।

सेती अञ्चल अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डाक्टर हेमराज पाण्डेले फार्मेसीमा औषधि अभाव भएको स्वीकार गर्नुभयो । उहाँले यसअघि गरेको टेण्डर प्रक्रिया नपुगेर स्थगित भएपछि अहिले पुनः औषधि खरिदका लागि टेण्डर खोलेर प्रक्रियामा गएको बताउनुभयो । अहिले फार्मेसीमा अतिआवश्यक औषधिहरु पनि छैनन् ।

सबै भन्दा विक्री हुने र आत्यावश्यक औषधि सिटामोल पनि अभाव छ । फार्मेसीमा सहायक प्रमुख प्रधानले सिटामोल, ग्याष्टिकका लागि चाहिने प्यान्टक, अस्थालिन सोलुसन, प्रेसरका विरामीका लागि चाहिलेलगायतका थुप्रै अत्यावश्यक औषधिहरु नभएको जानकारी दिनुभयो । उहाँले ओपिडी र भर्ना भएका विरामीहरुका लागि औषधि रहेको भएपनि ईमर्जेन्सी विरामीका लागि औषधि अभाव भएको बताउनुभयो ।

यसअघि अस्पतालले अघिल्लो तीन महिनाको आवश्यकतालाई आधारमा मानेर तीन महिनाका लागि औषधि खरिद गरेको थियो ।

तर, विरामीको चापले औषधि बढी माग भएपनि तीन महिनाका लागि खरिद गरेको औषधि औषधि पनि दुई महिना नपुग्दै सकिएपछि अहिले औषधि अभाव हुन पुगेको सहायक प्रमुख प्रधानले बताउनुभयो । त्यसैमाथि अहिले अहिले खोलिएको टेण्डर स्थिगित भएपछि झन औषधि अभाव हुन पुग्यो ।

अहिलेकै अवस्थामा फार्मेसीमा सबै खाले औषधि नपाइरहेका बेला डाक्टरले लेखेर दिने ‘ब्राण्ड’को औषधि नपाएर पनि कतिपय विरामीहरु समस्यामा पर्ने गरेका छन् । विरामीले डाक्टरले लेखेकै औषधिहरु खोज्ने गरेका कारण पनि थप समस्या भएको छ । कतिपय डाक्टरले फार्मेसीमा नभएका औषधिहरु पनि लेखेर देखिने गरेका छन् ।

डाक्टरले लेखेकामध्ये आधा औषधि अस्पतालको फार्मेसीमा पाइने र आधा नपाइने गरेपछि निजी औषधी पसलबाट महंगो मुल्यमा किन्नुपरेको बिरामी तथा उनीहरुका आफन्तको गुनासो छ ।

औषधि अभाव भएपछि स्वास्थ्य बीमा गरेका विरामीहरु पनि बाहिरैबाट औषधि खरिद गर्न बाध्य छन् । बीमा सम्बन्धी आवश्यक ११ सय बढी औषधिहरु पनि फार्मेसीमा उपलब्ध गराइएको थियो । तर, अहिले अभाव छ ।

प्रकाशित मिति: १० आश्विन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्