बिराटनगरमा पाँच पत्रकार पुरस्कृत


 


विराटनगर, असोज १२

नेपाल प्रेस युनियन मोरङ शाखाको आठौ जिल्ला अधिवेशन तथा पुरस्कार समर्पण समारोहमा आज बिराटनगरमा पाँच पत्रकार पुरस्कृत भएका छन् ।

पत्रकार भारती उपाध्यायद्वारा स्थापित अम्वे–मुरारी महिला पत्रकारिता पुरस्कारबाट सुशीला पाठक, शैलेजा आचार्य स्मृति पुरस्कारबाट मदनबाबु प्रसाईं, शैलेजा आचार्य स्मृति युवा पुरस्कारबाट नरेन्द्र बस्नेत, शैलजा आचार्य स्मृति महिला पुरस्कारबाट रञ्जिता पोखरेल र मायादेवी रिजाल स्मृति पुरस्कारबाट कुमोद अधिकारी पुरस्कृत हुनुभएको छ । पुरस्कारको राशी जनही रु ११ हजार रहेको छ ।

सो अवसरमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाले प्रजातन्त्र र लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिता क्षेत्र बलियो हुनुपर्ने बताउनुभयो । उहाँले परिवर्तनका संवाहक सञ्चार क्षेत्रले आफ्नो भूमिकालाई सशक्त बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।

काङ्ग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले सञ्चारकर्मीले आफ्नो पेशालाई मर्यादित बनाउँदै व्यावसायिक बन्नुपर्ने बताउनुभयो । प्रेस युनियन मोरङ शाखाका सभापति मीनकुमार नवोदित श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेल, मोरङ अध्यक्ष बन्धु पोखरेल, अजयबाबु शिवाकोटी, बाला अधिकारी र विजय सन्तोषी राईले बोल्नुभएको थियो । रासस

प्रकाशित मिति: १२ आश्विन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्