कर्णले सामाजिक सद्भाव भाँड्न खोजेको मैथिली समाजको ठहर


 


उर्लाबारी (मोरङ), असोज १२

जातीय सद्भाव खल्बल्याउन केहि तत्वहरु सक्रिय रहेको भन्दै आफ्ना समूदायलाई मैथिली समाज सेवा समिति उर्लाबारीले सजग रहन आग्रह गरेको छ ।

आज बेलुका मैथिली समाज सेवा समिति उर्लाबारीले पत्रकार सम्मेलन गरी आफ्नो संगठनविरुद्ध केही ब्यक्तिले लगाएको लाञ्छनाप्रति ध्यानाकर्षण भएको जनाएको हो । मैथिली समाजका पूर्व उपाध्यक्ष सन्तोष कर्णले आफू अध्यक्ष पदमा पराजित भएपछि संगठनमा भारतीय नागरिक र मुस्लिम समूदाय समेटिएको भन्दै एक दिनअघि पत्रकार सम्मेलन गरी लगाएको आरोपप्रति सिंगो मैथिली समाज रुष्ट बनेको छ ।

समाजका नवनिर्वाचित कार्यसमितिका सबै जसो पदाधिकारीसहितको पत्रकार सम्मेलनमा अध्यक्ष पवन चौधरीले भन्नुभयो –जसले मैथिली संस्कार र संस्कृतिलाई अंगिकार गर्छ, उ स्वतः मैथिली समाजको सदस्य बन्ने अधिकार सुरक्षित छ ।’ उनले विधानमा रहेको प्रावधान देखाउँदै भने–‘यतिकुरा प्रष्ट हुँदाहुँदै पनि सिंगो मैथिली समाजलाई भाँड्न केही ब्यक्ति सक्रिय हुनु दुःख कुरा हो ।’ पूर्वउपाध्यक्ष कर्णको कार्यशैलीप्रति आक्रोश ब्यक्र गर्दै अध्यक्ष चौधरीले भने–‘ मैथिली समाजलाई बद्नाम गराउने कार्य नरोकिए हामी कर्णलगायत विरुद्ध कानूनी उपचार खोजीमा लाग्छौं ।’

यस्तै, समाजका पूर्वअध्यक्ष महेन्द्रप्रसाद सिंहले प्रतिप्रश्न गर्दैे भने–‘सन्तोष कर्ण जी आफैं उपाध्यक्ष हुनुहुन्थ्यो, साधारणसभाअघि समाजमा भारतीय नागरिक थिए/थिएनन् भनेर किन छानविन गर्नु भएन ?’ साधारणसभामा नेतृत्व चयन विधान सम्मत भएको मैथिली समाज निर्वाचन समितिका संयोजक उत्तमलाल पण्डितले बताउनुभयो । । निर्वाचनको निष्पक्षतामा प्रश्न उठाउनु पराजित मानसिकता बाहेक केही नभएको पण्डितको भनाई थियो । उनका अनुसार अध्यक्ष पदमा पवन चौधरीले २ सय ५ मतको भारी मतान्तरले सन्तोष कर्णलाई पराजित गरेका हुन् । जसमा चौधरीले ३ सय ७५ र कर्णले केबल ६८ भोट प्राप्त गरेका थिए । पण्डितकै अनुसार खसेको मतमा बदर भएका करिब ७० मत पनि चौधरीकै रहेको थियो । यति हुँदाहुँदै कर्णले हारलाई सहजै स्वीकार गर्न नसक्दा आफू अच्चमित भएको उनी बताउँछन् । मैथिली समाजको संस्कृति र संस्कार उन्नत र विशिष्ट खालको रहेको भन्दै उर्लाबारी–७ का बसिर खानले मुस्लिम धर्म मान्ने भएपनि नजिकको समूदायसँग सहकार्य गर्न आफूहरु मैथिली समाजमा आबद्ध भएको जनाए ।

खानसँगै उर्लाबारी–७ का अलाउद्दिन मियाँलगायत दर्जन बढी मुस्लिम धर्मालवम्बी मैथिली समाजमा अटाएका छन् । मियाँले भने–‘मैथिली समाजमा आबद्ध हुन सबैलाई ढोका खुल्ला छ, यो र उ भनेर विभेद गर्नेहरुलाई समाजबाटैै बहिस्कार गर्नु पर्छ । पूर्व उपाध्यक्ष कर्ण र वर्तमान कार्यसमिति सदस्य हेमन्ती ठाकुरलाई संस्थाको हित विपरित कार्य गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय भएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो । २०६३ सालमा स्थानीय शिक्षक सुरेश मल्लिक संस्थापक अध्यक्ष भएर मैथिली समाज सेवा समिति उर्लाबारी गठन गरिएको थियो । समाजको प्रधान कार्यालय उर्लाबारीमा रहेको छ ।

प्रकाशित मिति: १२ आश्विन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्