सङ्घीयता सफल बनाउने जिम्मेवारी सबैको : मुख्यमन्त्री राई


 


सुनसरी, असोज १२

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्थानीय तहमा निर्वाचित पदाधिकारीको काँधमा सङ्घीयताको सफल कार्यान्वयन गर्दै जनतालाई समृद्धिको बाटोतर्फ अघि लैजाने महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभएको छ ।

मुख्यमन्त्री राईले गाउँपालिका महासङ्घ नेपालको प्रदेश नं १ को इटहरीमा आज आयोजित प्रथम अधिवेशनको उद्घाटन गर्दै सङ्घीयता सफल तुल्याउने जिम्मेवारीलाई ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिनुयभो ।

मुख्यमन्त्री राईले सङ्घीय, प्रादेशिक सरकारदेखि स्थानीय तहसम्म धेरै ऐन कानूनी एवं विधिविधान बनाउन बाँकी रहेको विषय तर्फ सचेत गराउनुहुँदै मौजुदा उपलब्धिलाई अधिकतम सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नभयो । प्रदेश सामाजिक विकासमन्त्री जीवन घिमिरेले जननिर्वाचित प्रतिनिधिबाट हुने लापर्वाही वा कमजोरी गम्भीर हुने भएकाले सकेसम्म त्रुटि नहोस् भनेर जनताकै माझमा बसेर काम गर्ने बानीको विकास गर्न समेत गाउँपालिका महासङ्घका पदाधिकारीलाई आग्रह गर्नुभयो ।

गाउँपािलका महासङ्घ नेपाल प्रदेश नं १ का संयोजक तारानाथ काफ्लेको अध्यक्षतामा भएको अधिवेशन समारोहमा इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरी, नेकपाका प्रदेश इञ्चार्ज देवराज धिमिरे, सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीलगायतले बोल्नुभएको थियो ।
अधिवेशनमा प्रदेश नं १ अन्र्तगत १४ जिल्लाका ८८ स्थानीय तहका निर्वाचित प्रमुख तथा उप प्रमुखको सहभागिता छ । अधिवेशनले गाउँपालिका महासङ्घ प्रदेश नं १ को नयाँ कार्यसमितिको चयन गर्ने बताइएको छ । रासस

प्रकाशित मिति: १२ आश्विन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्