आइजोनको नेट रु ५ सयमै चलाउन पाईने


 


मोरङ, असोज १३

इन्टरनेट प्रदायक संस्था आइजोन प्रालि उर्लाबारीले आगामी दशैं तिहारको अवसरमा सहुलियत शुल्कमा इन्टरनेट सेवा प्रदान गर्ने भएको छ । सूचना प्रविधिमा सर्वसाधारणको आकर्षण बढ्दै गएकोले सबैको पहूँचमा इन्टरनेट सेवा पुर्याउने उद्देश्यले प्रालिले यस्तो अवसर प्रदान गर्न लागेको हो ।

प्रालिले आज उर्लाबारीमा पत्रकार सम्मेलन आयोजना गरी यस्तो जानकारी दिएको हो । इन्टरनेट सेवाको पहुँच सहज, विश्वासनीय र मितव्ययिता अपनाउने उद्देश्यले सहुलियत शुल्कमा इन्टरनेट बितरण गर्न लागिएको प्रालिका प्रबन्ध निर्देशक नविन श्रेष्ठले बताउनुभयो । प्रालिले मासिक पाँच सय रुपैयाँमा इन्टरनेट सेवा बितरण गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

२०७२ सालमा स्थापित सो प्रालिको उर्लाबारी–५ मा केन्द्रीय कार्यालय रहेको छ भने इटहरीमा क्षेत्रीय कार्यालय, इनरुवा, विराटचोक, पथरी र दमकमा शाखा कार्यालयहरु रहेका छन् ।

निकट भविष्यमै मधुमल्ला, धरान र विराटनगरमा शाखा बिस्तार गरिने प्रालिका निर्देशक सम्शेर आलामले जानकारी दिनुभयो । १० एमबीपीएस इन्टरनेट क्षमता रहेको सो प्रालिले एमपिएलस प्रणाली समेत जडान गरेको छ । यसले इन्टरनेट सेवाको गति नियमित र सुरक्षित गर्ने जनाइएको छ ।

प्रकाशित मिति: १३ आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्