पुनः सञ्चालनमा अायाे सप्तकाेशीकाे जेटबाेट


 


 

विराटनगर।सप्तकोशी नदीमा गत सोमबारदेखि पुनः जेटबोट सञ्चालनमा आएको छ । उदयपुर र सुनसरी जिल्लाको   सिमानामा पर्ने काेशीपुलबाट जेटबाेट पुनःसञ्चालनमा ल्याइएकाे हाे । वर्षायाममा स्थगित भएको जेटबोट चतराबाट भोजपुर र धनकुटाको चोभारासम्म पुग्ने गर्छ ।

चाड पर्व नजिकिँदै गर्दा सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै जेटबोट पुनः सञ्चालनमा ल्याइएको सञ्चालक समितिका सदस्य पर्शुराम राईले बताए । दशैं, तिहारमा पहाडी भेगका स्थानीय गाउँघर फर्किने र पर्यटनमा रमाउन आउने यात्रु अत्यधिक हुने भएकाले सुविधा दिने उद्देश्यले बोट सञ्चालनमा ल्याइएको सञ्चालक राईले बताए । वर्षाका कारण सप्तकोशीको वहाव बढेकाले असार, साउन र भदौ महिनामा जेटबोट स्थगित गरिएको थियो ।

वर्षात् कम हुनथालेपछि सप्तकोशीको पानी घटेर पुरानै अवस्थामा आएकाले जेटबोट सञ्चालन गर्न सहज भएको हो । रोकिएको तीन महिनापछि सोमबार पहिलो पटक परीक्षण गरिएको वराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिका अध्यक्ष सन्तोष भण्डारीले बताए । उदयपुरको बेलका नगरपालिका र सुनसरीको वराहक्षेत्र नगरपालिकामा पर्ने सप्तकोशी पुलबाट भोजपुरको चुवारा र धनकुटाको सिम्लेसम्म दुई वटा जेटबोट सञ्चालनमा छन् ।

करिब १५ किलोमिटरको दुरीमा रहेको जल मार्गबाट भोजपुर, धनकुटा र उदयपुरका विकट भेगका वासिन्दा लाभान्वित हुँदै आएका छन् । ७ घण्टासम्म हिँड्नु पर्ने भौगोलिक अवस्थालाई जेटबोटले १५ मिनेटमै समेटिदिएको सञ्चालक राईले बताए । यसै वर्षदेखि सञ्चालनमा आएको जल यातायात लोकप्रिय बन्दै गएको छ ।

गन्तव्यमा पुग्ने यात्रुदेखि तीर्थयात्री र पर्यटकलाई समेत जेटबोटले सहज बनाइरहेको स्थानीय बताउँछन् । भाडा पचास रुपैया“ वृद्धि तीन महिना अघिसम्म भोजपुरको चुवारा र धनकुटाको सिम्लेसम्म पुग्ने जेटबोटले प्रतिव्यक्ति ४ सय रुपैयाँ भाडा लिँदै आएको थियो । हाल इन्धनको मूल्यमा आएको वृद्धि र स्थानीय तहलाई बुझाउनु पर्ने कर अत्यधिक भएको भन्दै प्रतिव्यक्ति भाडादरमा ५० रुपैयाँ वृद्धि गरिएको वराहक्षेत्र जलयातायात तथा पर्यटन सेवा प्रालिका अध्यक्ष सन्तोष भण्डारीले बताए ।

अब यात्रुले जेटबोटको अन्तिम गन्तव्यसम्म पुगेको भाडा प्रतिव्यक्ति ४ सय ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ । प्रालिका अध्यक्ष भण्डारीका अनुसार दशैंको टिकाका दिन बिहानदेखि १२ बजेसम्म सेवा बन्द हुने छ । १२ बजेपछि पुनः बोट सञ्चालन गरिने छ । सोमबार परीक्षण गरिएको जेटबोट मङ्गलबारदेखि नियमित सञ्चालन हुनेछ ।

बिहान ६ बजेदेखि राति ८ बजेसम्म जेटबोटले सेवा दिन सक्ने भण्डारीले बताए । बोटमा दुई वटा ठूला हेडलाइट राखिने भएकाले रातको समयमा पनि कुनै समस्या नहुने भण्डारीको भनाइ छ ।

प्रकाशित मिति: १३ आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्