आजबाट नेकपा प्रदेश १ को संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा


 


विराटनगर, असोज १५
प्रदेश नं १ को नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजबाट संसदीय दलको बैठक बस्दै छ । दिउँसो १ बजेबाट बस्न लागेको बैठक भोलिसम्म सञ्चालन हुँदैछ ।

बैठकमा औपचारिक रुपमा प्रदेशको राजधानी र नामले प्रवेश पाउन लागेको हो । यसका लागि प्रदेश नं १ का मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईले यसअघि नै सरोकारवालाहरुसँग अनौपचारिक छलफल गरिसकेका छन् ।

आजको बैठकमा यसले औपचारिक प्रवेश पाउने नेकपा संसदीय दल सम्बद्ध सांसदहरुले जनाएका छन् । दशैं अगाडि नै प्रदेश १ को नाम र राजधानी टुंगाउने तयारी स्वरुप बैठक बस्न लागेको हो ।

सांसदहरुको धारण सुन्दै नेकपाले आधिकारीक धारणा बनाउनका लागि बस्न लागेको यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ । किनभने प्रदेश १ मा नेकपाको दुई तिहाइ बहुमत छ भने उसको आधिकारीक निर्णय नै संसदबाट पारित हुनेछ ।

तत्कालिन एमालेको एकल बहुमत रहेको यो प्रदेशमा एमाले र माओवादीको एकतासँगै दुई तिहाइ बढी सांसद नेकपासँग छन् । तत्कालिन एमालेसँग ५१ र माओवादीसँग १६ जना सांसद थिए ।

यतिबेला नेकपासँग ६७ जना सांसद छन् । प्रदेशमा कुल ९३ सांसदको यो संख्या तुई तिहाइ बढी हो । हाल प्रदेशमा नेपाली कांग्रेसँग २१, संघीय समाजवादी फोरम नेपालसँग ३, राप्रपा १ र संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्च सम्बद्ध १ जना सांसद छन् ।

प्रकाशित मिति: १५ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्