एसियन च्याम्पियनसीप खेलेर फर्कियो नेपाली टोली


 


विराटनगर, असोज १५

भारतको आगरामा आयोजित एसियन यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली स्वदेश फर्किएको छ ।
प्रतियोगिताको ४६ औं संस्करण सकिंदा पहिलो पटक सहभागी भएको नेपाली टोली आगराबाट नयाँ दिल्ली, बागडुगरा हुँदै पूर्वी नाका काँकडभित्ताबाट आइतबार राति विराटनगर आइपुगेको हो ।

प्रतियोगिताका लागि २० खेलाडी सहित २८ सदस्यीय टोली असोज ४ गते भारत गएको थियो । प्रतियोगितामा नेपाल छैठौं बनेर फर्किएको छ । टोलीले आज विहान विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको अनुभव र उपलब्धीका बारेमा जानकारी गराएको छ ।
नेपाली टोलीका व्यवस्थापक एवं अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य रुपेश अधिकारीले उपाधि रक्षा गर्ने प्रवल सम्भावना हुँदा हुँदै नेपाली टोली पछि परेको बताए । ‘सम्भावनाका बीचबाट हामी छैठौं बनेर फर्किएका छौं,’ उनले भने, ‘पहिलो पटक सहभागी भएका कारण पनि यो पोजिसनलाई राम्रै उपलब्धीका रुपमा लिइएको छ ।’ नेपाली टोली भन्दा अन्य मुलुकबाट सहभागी भएका टिम सबै हिसावमा मजवुत रहेको उनको भनाइ छ ।

अधिकारीले आयोजकले रेफ्री छनौटमा ध्यान पुर्याउन नसक्दा नेपाल पछि पर्नु परेको पनि बताए । ‘हामी पनि एक हिसावको तयारी गरेर गएका थियौं । अन्य टोली ठूलो तयारीका साथ आएका रहेछन्,’ उनले भने, ‘तर आयोजकले फुटबललाई बुझ्दै नबुझेका रेफ्री छनौट गरिदिंदा उपाधिबाट बन्चित हुनु पर्यो । यसलाई हामीले व्यवस्थापकिय कमजोरीका कारण पछि परेको रुपमा लिएका छौं ।’

अधिकारीले खेल खेलाउने क्रममा रेफ्रीले गर्ने निर्णयमाथि आपत्ति जनाउँदै आयोजकलाई प्रतियोगितामा सहभागी अन्य देशले पनि गुनासो पोखेको जानकारी पनि दिए । ‘थाईल्याण्ड, इन्डोनेसिया, भारत, चीन जस्ता प्राविधिक र शारीरिक रुपमा बलिया र मजवुत मुलुकसंग नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो,’ उनले भने, ‘तर रेफ्रीको गलत निर्णयको सिकार बन्नु पर्यो ।’ रेफ्रीकै कारण सुरुवातदेखिकै खेल गुमाउँदै गएको उनको भनाइ छ । प्रतियोगिताका लागि अन्य देशले गरेको तयारी नेपालको भन्दा धेरै उत्कृष्ट रहेको भन्दै उनले नेपालका लागि भने तयारी यथेष्ट नभएको बताए । ‘सबै हिसावबाट उत्कृष्ट रहेका देशसंग खेलेर नेपालले सिक्ने अवसर पायो,’ अधिकारीले भने, ‘नेपालले त्यो स्थितीमा पुग्न धेरै मेहनत गर्नु पर्ने देखियो ।’ प्रतियोगितामा सहभागी मध्ये थाईल्याण्ड, इन्डोनेसिया र चीनसंग नेपालको मैत्रीपूर्ण खेल आयोजना गर्नका लागि वातावरण बनाउन तयारी थालिएको जानकारी उनले दिए ।

नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले भने, ‘प्रतियोगिताका लागि आयोजकले प्रत्येक देशबाट फिफ रेफ्री मगाएको थियो । नेपालबाट मात्रै फिफा रेफ्री गएको पायौं । अरु देशबाट फिफा रेफ्री नै आएनछन् ।’ उनले आवश्यक परीक्षा लिएर उपयुक्त रेफ्री प्रतियोगिता खेलाउन छनौट गरिनु पर्नेमा आयोजक त्यसमा पनि चुकेको बताए । श्रेष्ठले परीक्षा लिंदा प्राय सबै रेफ्री फेल हुने भएका कारण परीक्षा नलिइकन सहभागी सबै रेफ्रीलाई खेल खेलाउने अवसर दिएको जवाफ आयोजकबाट आएको बताए ।

‘थाईल्याण्ड र इन्डोनेसियासंगको खेल रेफ्रीकै गलत निर्णयका कारण गुमाउनु पर्यो,’ उनले भने, ‘ रेफ्रीले एकपक्षिय खेल खेलाइदिंदा हामीलाई घाटा भयो ।’ उनका अनुसार नेपालले डिबक्स बाहिर फल गर्दा अरुलाई पेनाल्टीको अवसर दिइयो भने अरुले डिबक्स भित्र फल गर्दा नेपाललाई भने फ्रिकिकको मात्रै अवसर दिइएको थियो । श्रेष्ठले खेल भरी आफ्नो निर्णयमा रहन नसक्नु रेफ्रीको कमजोरी रहेको बताए । उनले भने, ‘रेफ्रीले सही निर्णय गरिदिन सकेको भए नेपालले फाइनल खेल्ने कुरामा कुनै दुई मत थिएन ।’

श्रेष्ठले विराटनगरमा एक महिना सम्म गरिएको बन्द प्रशिक्षण लाभदायक भएको पनि बताए । उनले विराटनगरको मौसम प्रतियोगिता आयोजना स्थलको मौसमसंग मिल्दो जुल्दो भएका कारण खेलाडीलाई सहज भएको पनि बताए । आगामी दिनमा पनि कुनै प्रतियोगितामा सहभागिता जनाउन जानु अघि मौसम अनुकूलको बन्द प्रशिक्षण गर्न गराउन सकियो भने त्यसले फाइदा पुग्ने उनको भनाइ छ ।
नेपाली टोलीका कप्तान दिनेश हेन्जनले सोचे भन्दा राम्रो प्रदर्शन गरिएको बताए । ‘सबै टिमसंगको खेल एकदम नै प्रतिष्पर्धात्मक भयो,’ उनले भने, ‘नेपाली खेलाडीलाई अन्तराष्ट्रिय खेलको अनुभव लिने मौका पनि मिल्यो ।’ हेन्जनले नेपाली टोलीले अपेक्षा गरे भन्दा उत्कृष्ट प्रदर्शन गरे पनि उपाधिबाट विमुख हुनु पर्दा भने दुःख लागेको बताए । आगामी दिनमा यसरीनै मौका दिंदा नेपाली खेलाडीले अरु मुलुकमा गएर सिक्ने र खेल कौशल बढाउने अवसर पाउने उनको भनाइ छ ।

प्रतियोगितामा थाईल्याण्ड, इन्डोनेसिया, दक्षिण कोरिया, मलेसिया, आयोजक राष्ट्र भारत, नेपाल, चीन, श्रीलंका, भुटान र अफगानिस्थान गरेर १० वटा देशको सहभागिता रहेको थियो । जसमा थाईल्याण्ड विजेता र इन्डोनेसिया उपविजेता बन्यो ।

प्रकाशित मिति: १५ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्