भोजपुरमा अवैध क्रसर उद्योगबाट करोडौँ राजस्व गुम्यो


 


भोजपुर, असोज १५

भोजपुरको अरुण गाउँपालिका –६ मा पर्ने अरुण नदीको किनारमा तीन वर्षदेखि अवैध रुपमा सञ्चालनमा आएको क्रसर उद्योग अझै कानुनी दायरामा आएको छैन ।

लेगुवा – भोजपुर सडक कालोपत्रे योजनाका लागि भन्दै विनाअनुमति क्रसर उद्योग सञ्चालन भइरहेको हो । तत्कालीन जिल्ला विकास समितिले पटक पटक कानूनी दायरामा आउनका लागि ताकेता गर्दा पनि उद्योग कानुनी प्रक्रियामा आएको छैन ।

जिल्लाको कुनै पनि निकायसंँग समन्वय तथा दर्ता नगरी उद्योग तीन वर्षदेखि सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मध्यपहाडी राजमार्गको लेगुवास्थित अरुण किनारामा २०७२ सालको माघदेखि अवैध रुपमा क्रसर उद्योग सञ्चालनमा छ ।

क्रसर उद्योग सञ्चालनमा आएपछि स्थानीय बासिन्दा, सामुदायिक वन उपभोक्ता समूहलगायतले उद्योगको वैधानिकतामाथि प्रश्न गर्दै तत्कालीन जिल्ला विकास समितिको कार्यालयमा उजुरी दिएका थिए ।

तत्कालीन रुपमा स्थानीयबासीको उजूरीपछि योजना अधिकृत खगेन्द्र गिरीको नेतृत्वमा गठित तीन सदस्य छानबिन समितिले अनुसन्धान गरी स्थानीय विकास अधिकारीलाई प्रतिवेदन पेश गरेको थियो । छानबिन समितिको प्रतिवेदनमा उद्योग कानूूनी प्रक्रिया विपरीत सञ्चालनमा रहेकोे स्पष्ट रुपमा उल्लेख छ ।

समयमा पटक पटक पत्राचार गर्दा पनि उद्योग सञ्चालकले कानूनी दायरामा आउन इन्कार गरेको जिल्ला प्रशासन कार्यालयको भनाइ छ । । यसवापत जिल्लालाई बुझाउनुपर्ने करोडौँ राजस्व उठ्न सकेको छैन । जिल्ला समन्वय समितिका सामाजिक अधिकृत सुुरेन्द्र राईले धेरै पटक ताकेता गरेपछि सञ्चालन अवधिको यो समयसम्म आउँदा सडक आयोजनाले रु चार लाख मात्र राजस्ववापत वुझाएको जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: १५ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्