तेह्रथुम पावर कम्पनीको आइपीओ आउँदै


 


काठमाडौं, असोज १६

तेह्रथुम पावर कम्पनीले रु १२ करोड बराबरको १२ लाख कित्ता साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् चार लाख कित्ता (रु चार करोड) साधारण शेयर आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीयवासीलाई बिक्री गर्न लागिएको छ ।

यस्तै सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ लाख कित्ता (रु आठ करोड) शेयर बिक्री गर्न लागेको छ । कम्पनीले आज धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

शेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र एनआइबिएल एस क्यापिटलका तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले सोमबार हस्ताक्षर गर्नुभयो ।

हाल उक्त कम्पनीको अधिकृत पूँजी रु ४० करोड, जारी पूँजी रु ४० करोड र चुक्ता पूँजी रु २८ करोड रहेको छ । स्थानीय बासिन्दा र सर्वसाधारणमा शेयर बिक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी रु ४० करोड पुग्ने कम्पनीका प्रबन्ध सञ्चालक डाँगीले जानकारी दिनुभयो ।

तेह्रथुम पावर कम्पनी लिमिटेडले तेह्रथुम जिल्लाको साविक मोराहाङ, श्रीजुङ, पौठाक र ओयाक्जुङ गाविस हाल मेन्छेयायेम गाउँपालिकामा ७।५ मेगावाट क्षमताको माथिल्लो खोरुङगा खोला साना जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । हालसम्म सो आयोजनाको भौतिक प्रगति करीब ६० प्रतिशत पुगेको छ ।

प्रकाशित मिति: १६ आश्विन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्