मङ्सिरदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने


 


काठमाडौँ, असोज २०

काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ ।

शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको टोलीसँग बसेको बैठकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा उक्त ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चालकले सुन्तला र सहचालकले हरियो रङ्गको ज्याकेट लगाउनुपर्ने निर्णय भएको जानकारी दिनुभयो ।

तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालको समयमा फ्लोरेसेन्ट ज्याकेट लगाउन शुरुवात गरिए पनि माइक्रोबसका चालक तथा सहचालकले अटेर गर्दै आएका थिए । महासङ्घका महासचिव सरोज सिटौलाले उक्त ज्याकेटले चालकको पहिचान हुने, रातिको समयमा चम्किलो देखिने र चालकका बारेमा सेवाग्राहीलाई गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने बताउनुभयो । “ठूला सवारीसाधनमा समेत क्रमश ज्याकेट लगाउने व्यवस्था गर्नेछौँ”, उहाँले भन्नुभयो ।

महाशाखाले यसअघि उपत्यकामा सञ्चालित ट्याक्सी चालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको थियो । सोहीअनुसार हाल उपत्यकाका झण्डै ८० प्रतिशतभन्दा बढी ट्याक्सी चालकले उक्त ज्याकेट लगाउँदै आएका छन् । रासस

प्रकाशित मिति: २० आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्