इलाममा किबी क्षेत्र घोषणा


 


इलाम, असोज २०

किबी उत्पादनको राम्रो सम्भावना रहेको इलामलाई सरकारले किबी क्षेत्र (जोन) घोषणा गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जिल्लालाई किबी जोन घोषणा गरिएको हो ।

इलाम नगरपालिकाका केही वडा र सन्दकपुर गाउँपालिकालाई किबी जोन कायम गरिएको हो । इलाम नगरपालिकाका– १, २, ३ र ४ नं वडा र सन्दकपुर गाउँपालिकाका पाँचौँ वडामा किबी क्षेत्र घोषणा गरिएको वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथ साहले जानकारी दिनुभयो ।

कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रूपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने सोचका साथ शुरू भएको परियोजना आर्थिक वर्ष २०७३/७४ देखि सञ्चालनमा आएको र चालु आवदेखि इलाममा पनि सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

यस क्षेत्रका किसानले जिल्लाका सुलुबुङ, साँखेजुङ, माइपोखरी, जमुनालगायतका गाउँलाई किबी जोन माग गर्दै आएका थिए । किबी जोन भएपछि यस क्षेत्रका किसान हर्षित भएका छन् । रासस

प्रकाशित मिति: २० आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्