नागरिक लघुवित्तले हकप्रद शेयर दिने


 


काठमाडौं, असोज २०

नागरिक लघुवित्त वित्तीय संस्थाले हकप्रद शेयर दिने भएको छ । संस्थाको शनिबार भएको प्रथम वार्षिक साधारणसभाले उक्त शेयर दिने प्रस्ताव गरेको हो ।

उक्त साधारण सभाले अध्यक्ष लक्ष्मी राज पौडेलद्धारा प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०७४/०७५ को लेखा परिक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु अनुमोदन गरेको कम्पनीले जनाएको छ ।

साधारणसभाले हाल विद्यमान चुक्ता पूँजी १ करोड ७५ लाख रुपैयाँलाई वृद्धि गरी ७ करोड रुपैयाँ पुर्याउन १ बराबर ३ को अनुपातमा हकप्रद शेयर समेत निष्काशन गर्ने निर्णय गरेको छ ।

५ जना सञ्चालकहरुको लागि भएको निर्वाचनबाट क्रमशः लक्ष्मीराज पौडेल, केशव दुवाडी, सुन्दर खडका, मिना सैंजु र कल्पना बराल सञ्चालकमा निर्विरोध निर्वाचित भएका थिए । साधारणसभा समाप्त भए लगत्तै बसेको सञ्चालक समितिको बैठकले लक्ष्मीराज पौडेललाई सर्वसम्मत अध्यक्षमा चयन गर्ने निर्णय गरेको छ ।

नागरिक लघुवित्त वित्तीय संस्था लि साँगा, काभ्रेमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्था हो । पहाडी १० जिल्ला कार्य क्षेत्र रहेको यस वित्तीय संस्थाले हालसम्म ६ वटा जिल्लामा १० वटा शाखा कार्यालय मार्फत आफ्नो लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति: २० आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्