मोरङका पुराना कम्यूनिष्ट कार्यकर्ता कटुवालको निधन


 


मोरङ, असोज २१

भारतमा चलेको नक्सवादी आन्दोलनबाट प्रभावित बनेर कम्यूनिष्ट पार्टीमा लागेका नेपालका पुराना कार्यकर्ता मोरङको पथरीशनिश्चरेका भीमबहादुर कटुवालको ९१ वर्षको उमेरमा आज विहान निधन भएको छ ।

पछिल्लो समय दम रोगबाट ग्रसित भइ निधन भएका पथरीशनिश्चरे १० जिरिखिम्ती निवासी कटुवालको पार्थिव शरीरमाथि नेकपाका ३ नम्वर क्षेत्रीय संयोजक चण्डीप्रसाद राईको अगुवाईमा पार्टीको झण्डा ओढाएर कानेपोखरीको छधारे खोलामा अन्तिम श्रद्धाञ्जली दिइएको छ । अन्तिम संस्कारमा नेकपाका नेता, कार्यकर्ताका साथै अन्य पार्टी तथा समाजका अगुवाहरुको उल्लेख्य सहभागिता थियो ।

पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितका नगरका जनप्रतिनिधिहरुले समेत भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै नेपालकै पुरानामध्येका इमान्दार कम्यूनिष्ट अगुवा गुमाउनु परेकोमा दुःख व्यक्त गर्नुभएको छ ।

बामपन्थीको सरकार बनेपछि देशमा स्थायी शान्ति र प्रगति हुने कुरामा आशावादी बनेर उत्साहित भएका कटुवाल जीवनको अन्तिम समयसम्म पनि विपन्न मानिस र देशकै भलोका लागि चिन्तित हुनुहुन्थ्यो । उहाँले केन्द्रीय नेताहरुसंग भेटी देश निर्माणको खवरदारीका सुझाव दिइरहनुहुन्थ्यो । ८० वर्षको उमेरसम्म पनि साइकलमै चढेर धेरै टाढा टाढाका कार्यक्रममा पुग्ने उहाँ अनौठो विशेषता र सक्रियताका व्यक्ति मानिनुहुन्थ्यो । उहाँ साइकलबाटै धेरै पटक काठमाडौं आवत जावत गर्नुभएको थियो ।

विसं १९८५ कार्तिक २५ गते खोटाङको डाँडाखर्कमा जन्मिएका कटुवाल पछिल्लो समय नेकपाको मानार्थ सदस्य हुनुहुन्थ्यो । उहाँका १ छोरा, ३ छोरी छन् ।

प्रकाशित मिति: २१ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्