सरकारलाई मानव अधिकार आयोगको पत्र



काठमाडौँ, असोज २१

राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक दोषी पत्ता लगाई कानूनबमोजिम कारवाही गरी पीडितलाई न्याय दिन सरकारलाई आठ बुँदे निर्देशनपत्र पठाएको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा गत साउन १० गते कञ्चनपुर जिल्लाको उल्टाखाममा १३ वर्षीया बालिकाको बलात्कारपश्चात् हत्यामा संलग्न वास्तविक दोषी पत्ता लगाई कारवाही गर्न र पीडितलाई न्याय दिन आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आठ बुँदे निर्देशनपत्र पठाएको उल्लेख छ ।

घटनाका सम्बन्धमा आयोगको प्रदेश कार्यालय धनगढी र केन्द्रीय कार्यालयको टोलीसमेतले अनुगमन/अनुसन्धान गरिरहेको र अनुगमनबाट प्राप्त प्रारम्भिक प्रतिवेदन उपर आयोगमा छलफल हुँदा उक्त घटनाको सम्बन्धमा वैज्ञानिक तथा प्रभावकारी अनुसन्धान गरी दोषी पत्ता लगाई कानूनबमोजिम यथाशीघ्र कारवाही गर्न आयोगले सरकारलाई सो पत्राचार गरेको जनाएको छ ।

पत्रमा बलात्कार एवं हत्याको घटना घटिसकेपछि अनुसन्धानलाई उच्च प्राथमिकता दिइ कार्य गर्नुपर्ने, नेपाल प्रहरीले गरेको अनुसन्धानमा सूक्ष्मतम वैज्ञानिक परीक्षण र विश्वसनीयता नहुँदा आम मानिस तथा पीडित परिवारमा बढेको निराशा र विश्वसनीयता लगायतका विषय पत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी नेपालको संविधानले व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हक र अपराध पीडितलाई क्षतिपूर्तिको न्याय पाउने हकको व्यवस्था गरेअनुरुप वास्तविक दोषी पत्ता लगाई कानूनबमोजिम कारवाही गर्न तथा पीडित परिवारको न्याय पाउने हक शीघ्र सुनिश्चित गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News