काँग्रेसमा चर्को विवाद, चार शीर्ष नेताले निकाले विज्ञप्ती


 


काठमाण्डौँ, असोज २२

नेपाली काँग्रेसको बिद्याथी संगठन नेपाल बिद्यार्थी संघको उमेर हदलाई लिएर काँग्रेसभित्र तिब्र विवाद देखिएको छ । कांग्रेसका चार शीर्ष नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह र अर्जुन नरसिंह केसीले आइतबारको कांग्रेसको बैठकमा नेपाल विद्यार्थी संघको विधानलाई बहुमतको आधारमा पारित गरेको भन्दै आपत्ति जनाउँदै आज विज्ञप्ति जारी गर्नुभएको छ।

चार नेताले विज्ञप्ती निकाल्दै आम विद्यार्थीको भावना विपरित भएको भन्दै आपत्ति जनाउनु भएको हो। नेपाल विद्यार्थी संघको केन्द्रीय समितिको बैठकले सर्वसम्मत रुपमा उमेर हद हटाउने निर्णय गर्दै पार्टी केन्द्रिय समितिलाई विधान पारित गर्नका लागि भदौ अन्तिम साता निर्णय पठाएको थियो। तर, सभापति देउवा समूहले बहुमतको बलमा नेविसंघको निर्णयलाई नै लत्याएर उमेरहद लगाएको भन्दै देउवा इतर समूहले आपत्ति जनाएका हुन्।

कांग्रेसको नेता उत्पादन गर्ने मुहान मानिएको नेपाल विद्यार्थी संघमा पनि पराजित हुने डरले सभापति शेरबहादुर देउवाले महाधिवेशन नै अनिश्चित गर्ने खेलमा लागेको देउवा इतर समूहको आरोप छ। यस अघि नेपाल विद्यार्थी संघको बैठकले कार्तिक १६, १७ र १८ गते केन्द्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो।

जस अनुसार असोजको महाधिवेशनको कार्यक्रम सुरु गर्नु परेको थियो। तर पार्टीले कुनै पनि निर्णय गर्न नसक्दा महाधिवेशन नै अनिश्चित बनेको छ। नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको कार्यकाल भदौ २ गते नै सकिएको र मंसिर २ गते सम्म १२ औं महाधिवेशन नगरे नेपाल विद्यार्थी संघ स्वतः विघटन हुनेछ।

प्रकाशित मिति: २२ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्