विराटनगरलाई नै प्रदेश १ को राजधानी बनाउन माग


 


विराटनगर, असोज २२

प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगरलाई नै अनुमोदन गर्न विराटनगर महानगरपालिकाले आज पत्रकार सम्मेलन गरी माग गरेको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले राजधानीका निम्ति सबै किसिमको पूर्वाधार हुँदाहुँदै पनि राजधानी तोक्न प्रदेश सरकारलाई भइरहेको अप्ठ्यारोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले ऐतिहासिक, राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र पूर्वाधारको दृष्टिले पनि विराटनगर राजधानी बन्न उपयुक्त भएकाले यसैलाई राजधानी बनाउन प्रदेश सरकारसँग माग गर्नुभयो ।

राजधानी बनाउन महानगरपालिकासहित ६३ वटा सङ्घसंस्थाले आवाज उठाइरहेकाले राजधानी सर्ने बाहिरिया कुराले चिन्ता बनाएकाले यसतर्फ सबैजना गम्भीर बन्नुपर्छ प्रमुख प्रमुख बताउनुभयो । उहाँले प्रदेशको राजधानीका निम्ति आफ्नो कार्यालय भवन पनि प्रदेश सरकारलाई दिन तयार रहेको धारणा पनि राख्नुभयो । रासस

प्रकाशित मिति: २२ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्