छुट्टाछुट्टै दुर्घटनामा चारको मृत्यु, १४ जना घाइते


 


धनगढी, असोज २३
सुदूरपश्चिम प्रदेशमा मंगलबार छुट्टाछुट्टै दुर्घटनामा परेर एकै दिन चार जनाको मृत्यु भएको छ ।

कैैैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बर्दगोरियामा मंगलबार बिहान ट्याक्टर दुर्घटना हुुँदा दुई जनाको घटनास्थलमै मृत्युु भएको छ । दुर्घटनामा परेर एक जना घाइते भएका छन् ।

से १ त ३९६९ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा बर्दगोरिया १ ३५ वर्षीय डागु चौधरी र ४० वर्षीय सुरज कठरियाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सोही ठाउँका २० वर्षीय भीम कठरियाको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यलय बौनियाका प्रमुख कलेन्द्र विक्रम शाहिले जानकारी दिए । उनको अवस्था सामान्य रहेको छ ।

ट्याक्टर ओरालोमा रहेका बेला ब्रेक फेल दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

यस्तैबीच, बझाङको बुङ्गल नगरपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १२ जना घाइते भएका छन् ।

बागथलाबाट बिजगडातर्फ गइरहेको से १ ज ७२६ नम्बरको जीप ठिमीबगर भन्ने ठाउँमा दुर्घटना हुँदा कञ्चनपुर बेदकोट नगरपालिका वडा नम्बर ५ का ५६ वर्षीय धनबहादुर बोहरा र सोही ठाउँका ६५ वर्षीय बिष्नादेवी बोहराको मृत्यु भएको हो ।

जीप सडकबाट २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रविण धितालले बताए ।

प्रकाशित मिति: २३ आश्विन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्