पाँचथरमा माछा मासु बिक्रीमा हेलचेक्र्याइँ


 


पाँचथर, असोज २४

पाँचथरमा माछा मासुको बिक्रीमा हेलचेक्र्याइँ गरेको पाइएको छ । अनुगमनका क्रममा माछा मासुको बिक्रीमा हेलचेक्रयाइँ गरेको पाइएको हो ।

पाँचथरमा ५६ माछा मासु बिक्री गर्ने पसल छन् । सदरमुकाम फिदिममा मात्रै ३३ पसल छन् । फिदिममा सञ्चालित पसलबाट दैनिक झण्डै ४०० किलो मासु बिक्री वितरण हुने गरेको पाइएको छ । बिक्री वितरण व्यवस्थित र स्वच्छ रुपमा बिक्री वितरण हुन नसकेको अनुगमन टोलीको निष्कर्ष छ । दशैँलगायत पर्वलाई केन्द्रित गरी टोलीले यहाँका माछा मासु पसलको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा माछा मासु काट्ने हतियारमा खिया लाग्नुका साथै राम्रोसँग सफा नगरेको पाइएको छ । “माछा मासु पसलमा सरसफाइ न्यून रहेको पाइएको छ,” जिल्ला पशुसेवा कार्यालयका पशु सेवा प्राविधिक नीरज भट्टराईले भन्नुभयो, “पशुको बध गर्ने स्थान निकै फोहर रहेको पाइएको छ । बिक्री वितरण गर्ने स्थान दुर्गन्धित हुँदा मासुको स्वच्छतामा कमी पाइएको छ ।”

अनुगमनका क्रममा बधशाला र बिक्री स्थलमा पानीको निकास र सरसफाइ हुन नसकेको, साँघुरो ठाउँमा राँगा तथा बङ्गुरको मासु बिक्री हुने गरेको पाइएको छ । अनुगमन टोलीले व्यवसाय दर्ता नगरी सञ्चालित माछा मासु पसललाई कानूनी दायरामा ल्याउन सुझाव दिएको छ । अनुगमनमा पशुसेवासँगै जिल्ला प्रशासन, जिल्ला प्रहरी, फिदिम नगरपालिका, घरेलु तथा साना उद्योग विकास समिति र उद्योग वाणिज्य सङ्घका प्रतिनिधि सहभागी थिए । रासस

प्रकाशित मिति: २४ आश्विन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्