सरकार सञ्चालन र पार्टीका विषयमा गम्भीर समीक्षा : प्रचण्ड


 


काठमाडौँ, असोज २४

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार पाँच वर्षसम्म चल्न कुनै व्यवधान नरहेको बताउनुभएको छ ।
उहाँले विकास, सुशासन र स्थिरताका लागि अझ प्रभावकारी रुपमा कसरी काम गर्न सकिन्छ भन्नेमा पार्टी नेतृत्वबीच गम्भीर छलफल भइरहेको जानकारी दिनुभयो ।

पाथीभारा सद्भावनादूत परिचयपत्र वितरण तथा चाडपर्वका अवसरमा आज आयोजित चियापान कार्यक्रममा अध्यक्ष दाहालले सरकारले यसबीचमा छिमेकीसँगको सम्बन्धमा सुधारका साथै विभिन्न सकारात्मक काम गरेको तर सोचे जति तीव्ररुपमा काम गर्न नसकेको भनी उठेको प्रश्नमाथि आफूहरुको ध्यानाकर्षण भएको स्पष्ट गर्नुभयो ।

आज बिहान मात्रै आफू र प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीबीच सरकार सञ्चालन र पार्टीका विषयमा गम्भीर समीक्षा भएको जानकारी दिँदै उहाँले जनभावनानुसार कडारुपमा दण्डसजाय प्रणाली स्थापित गर्न र राष्ट्रिय एकतालाई बलियो बनाउन देखिएका कमजोरी सुधारेर अघि बढ्ने पर्याप्त सम्भावना रहेको जनाउनुभयो ।

“कामको सन्दर्भमा कहाँ के पुगेको छैन, राम्ररी समीक्षा र गृहकार्य गरेर जनताले देख्ने गरी महत्वपूर्ण लिने र पहल गर्ने विषयमा हाम्रो छलफल केन्द्रित छ”, अध्यक्ष दाहालले भन्नुभयो, “विगतमा राजनीतिक नेतृत्व र दूरदृष्टिको अभावमा विकास, सुशासन र स्थिरताको अभावमा हामी पछि परेका हौँ । अहिलेको जनमत स्थिरताको पक्षमा छ । पार्टी एकताले पनि हामीलाई विकासको अभियान सञ्चालनका लागि बल दिएको छ । विकासका लागि प्रतिपक्षको पनि समान मत छ । यस अवसरलाई उपयोग गर्नुपर्छ ।” रासस

प्रकाशित मिति: २४ आश्विन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्