आज दशैँको दोस्रो दिन, ब्रह्मचारिणीको पूजा गरिँदै


 


काठमाण्डौँ, असोज २५

वडा दशैँको दोस्रो दिन आज दशैँ घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नव दुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको पूजा आराधना गरिँदैछ ।

नव दुर्गामध्ये पहिलो दिन शैलपुत्रीको पूजा आराधना गरिन्छ भने दोस्रो दिन ब्रह्मचारिणीको स्तुति गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताउनुभयो । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । दुर्गा पक्षमा महाकाली, महालक्ष्मी, महासरस्वतीसहित नवदुर्गाको पूजा, आराधना गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ । आश्विन शुक्ल पक्षलाई शक्ति आराधनाको विशेष पर्वका रुपमा मनाउने गरिन्छ । उपत्यकालगायत देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने क्रम पनि बढेको छ । दशैँको टिका कार्तिक २ गते रहेको छ ।

प्रकाशित मिति: २५ आश्विन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्