वडा सदस्य हुन् त उर्लाबारीका जस्तो ! सबै तलब बिद्यालयलाई


 


उर्लाबारी (मोरङ), असोज २५

सामुदायिक विद्यालयमा प्राविधिक विषयको शिक्षा थप भएपछि विद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ । उर्लाबारी – ३ स्थित दूर्गा माध्यमिक विद्यालयमा सीटीइभीटीबाट मान्यता प्राप्त सिभिल सव ओभरसियर शैक्षिक कार्यक्रम शुरु भएपछि विद्यार्थीको आकर्षण बढको हो ।
सो विद्यालयमा सिभिल सव ओभरसियर कक्षा आजबाट सञ्चालनमा आएको छ ।

सयबढी विद्यार्थीले आवेदन दिएपनि कोटा अनुरुप ४० जनाको भर्ना लिइएको विद्यालयका प्रधानाध्यापक शारदा पाण्डेले जानकारी दिनुभयो । रोजगारीको अवसर, आफ्नै फर्म सञ्चालनमा सहजता जस्ता कारणले सिभिल सव ओभरसियरतर्फ विद्यार्थीको आकर्षण बढेको पाण्डेको भनाई छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा उर्लाबारी ३ का वडा सदस्य सोमप्रसाद तिम्सिना(राम)ले नगरपालिका बाट प्राप्त आफ्नो तलब, भत्ता र सुविधा बापत एक वर्षको एकमुष्ट रकम विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।  उहाँले विद्यालयको अक्षय कोषमा रु. एक लाख २५ हजार पाँच सय नगद विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्री पारसमणी कुइकेल र प्रधानाध्यापक पाण्डेलाई प्रदान गर्नुभयो । आफू सोहि विद्यालयमा प्रारम्भिक शिक्षा लिएको उल्लेख गर्दै तिम्सिनाले जो जता पुगेपनि धरातल बिर्सिन नहुने भन्दै आफ्नो पहिलो खुड्किलोलाई माया गर्नुपर्ने धारणा राख्नुभयो ।

दूर्गा माविमा निम्न स्तरका विद्यार्थीहरुको अध्ययन सहज भएको बताउदै यस्ता विद्यालयलाई सबैले सहयोग गर्न विद्यालयका सह प्रधानाध्यापक श्रीप्रसाद न्यौपानेले आग्रह गर्नुभयो । सिभिल सव ओभरसियरको कक्षा,पुस्तकालय र कम्प्युटर ल्याबको मोरङ क्षेत्र नंं. १ का सांसद घनश्याम खतिवडाले आज उद्घाटन गर्नुभयो । विद्यालय परिसरमा आयोजित कार्यक्रममा खतिवडाले सरकारले प्राविधिक शिक्षालाई जोड दिएको बताउनु भएको छ । उहाँले संसार नै प्रविधिमैत्री हुँदै गएकाले सरकारले प्राविधिक शिक्षामा जोड दिएको बताउनुभयो ।

उहाँले मुलुकका धेरै ठाउँमा प्राविधिक शिक्षालय स्थापना भइरहेको जानकारी दिँदै अब प्राविधिक शिक्षाबिना शिक्षा क्षेत्रमा उपलब्धि हासिल गर्न नसकिने धारणा राख्नुभयो । ‘अबको युग नै प्रविधिको हो, हामीले प्राविधिक शिक्षामा जोड दिएका छौंँ,’ सांसद खतिवडाले भन्नुभयो । उहाँले प्राविधिक शिक्षा अध्यापनमा सरकारी विद्यालयलाई प्राथमिकता दिनुपर्नेमा आफुले सक्दो पहल गरिरहेको जनाउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य कुशल साम्बा लिम्बूले सार्वजनिक शिक्षाको सुधारको लागि शिक्षकहरु र सिटिइभिटीसँग ठुलो अपेक्षा गरिएको बताउँदै प्राविधिक जनशक्ति पर्याप्त उत्पादन गर्न सकेमात्र देश विकास हुने बताउनुभयो । कार्यक्रममा उर्लाबारी नगरपालिकाका उपमेयर लक्ष्मी भण्डारी, वडा नम्वर ३ का वडाध्यक्ष गञ्जबहादुर कार्की, वडा सदस्य सोमप्रसाद तिम्सिना (राम) लगायतले प्राविधिक विषयको अध्ययन गर्नेले रोजगारीको अवसर पनि चाँडै पाउने र रोजगारी नभएमा पनि आफै व्यवसाय सञ्चालन गर्न सक्ने विद्यार्थीहरुलाई ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रकाशित मिति: २५ आश्विन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्