मोरङमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु


 


मोरङ, असोज २६

मोरङका दुई छुट्टाछुट्टै स्थानमा गएराती भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बेलवारी नगरपालिका – ४ स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख १९२० नम्बरको ट्रकले बिपरित दिशाबाट जाँदै गरेको को १२ प ९६८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक बेलवारी – ११ बस्ने ४० वर्षिय मनकुमार राई र पछाडी सवार सोही ठाउँका ४५ वर्षिय वर्णकुमार राईको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भिर घाईते भएका दुई जनाको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिनुभयो । ठक्कर दिने ट्रक र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ ।

यस्तै जिल्लाकै कानेपोखरी गाउँपालिका – ७ स्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । ना ५ ख २१४१ नम्बरको बसले बाटो काट्ने क्रममा ठक्कर दिँदा पैदलयात्री कानेपोखरी गाउँपालिका – ७ बस्ने ५० वर्षिय विष्णु भेटवालको न्युरो अस्पताल बिराटनगरमा उपचारका क्रममा गएराती मृत्यु भएको हो । ठक्कर दिने बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय, पथरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २६ आश्विन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्