नेपालमा करीब १० लाख बाथरोगी


 


काठमाडौँ, असोज २७

मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण बाथरोगले दिनानुदिन बढी व्यक्तिलाई ग्रसित पार्दै छ । विश्व बाथरोग दिवशका अवसरमा नर्भिक अस्पतालले गरेको जनचेतनामूलक कार्यक्रममा दिइएको जानकारी अनुसार सबै उमेर समूहका मानिस बाथरोगबाट ग्रसित हुँदै आएका छन् ।

बाथरोग र अस्थिपञ्जर सम्बन्धी रोग झण्डै २०० भन्दा बढी प्रकारका रहेका छन् । बाथरोग लागिसकेपछि सामान्यतया रोग लागेको भाग वा अङ्ग दुख्ने, चलाउन कठिन पर्ने, कक्रक्क पर्नेआदि समस्या देखा पर्दछ ।

धूमपान, बढी तौल तथा अनावश्यक मोटोपना, वंशानुगत कारण मानिसमा बाथरोग लाग्ने जोखिम बढ्ने गर्छ । बाथरोग सम्बन्धी जनचेतनाको अभिवृद्धि गराउन सो अस्पतालले आज बिहान एक प्रभातफेरी कार्यक्रमको आयोजना गर्यो ।

नर्भिक प्राङगणबाट शुरु भई थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्यूरोड गेट, कमलपोखरी, कालोपूल, जयवागेश्वरी, गौशाला, पुरानो बानेश्वर, बबरमहल हुँदै नर्भिकको प्राङगणमा आएर समापन भएको थियो । कार्यक्रममा बाथरोगीका अलावा सर्वसाधारण, चिकित्सकसहित करीब १५० जनाको सहभागिता थियो ।

विश्व बाथरोग दिवस हरेक वर्ष अक्टोबर १२ मा विश्वभर मनाइन्छ ।  सोही अवसरमा नर्भिकका नायब महाप्रबन्धक आरपी मैनालीले प्रत्येक तीन नेपालीमध्ये एकलाई जीवनको कुनै न कुनै क्षणमा कुनै न कुनै प्रकारको बाथरोगले दुःख दिने गरेको बताउनुभयो ।

बाथरोग वा मांशपेशी र अस्थिपञ्जरसम्बन्धी रोग लागिसकेका वा लाग्नसक्ने जोखिममा रहेका व्यक्तिलाई उपचारतर्फ उन्मुख गराई सजग गराउनु, रोग रोकथाम तथा नियन्त्रणतर्फ उन्मुख गराउनका लागि कार्यक्रम गरेको नर्भिकका बाथरोग विशेषज्ञ डा अरुणकुमार गुप्ताले बताउनुभयो ।

नेपालमा करीब १० लाख भन्दा बढी जनसङ्ख्या यस रोगबाट पीडित भएको अनुमान गरिएको छ । रासस

प्रकाशित मिति: २७ आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्