चुनावी प्रतिबद्धता पूरा गरेरै छाड्छौ : अध्यक्ष दाहाल


 


भक्तपुर, असोज २७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको समृद्ध राष्ट्र र सुखी नेपालीको परिकल्पनालाई साकार पार्न सबै एकताबद्ध भई सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

आज मध्यपुरथिमिको नगदेशमा नेकपा मध्यपुरथिमि कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान एवं तुच्चा कार्यक्रममा बोल्दै उहाँले अहिले केन्द्रदेखि स्थानीय तहसम्म बलियो र स्थायी सरकार बनेकाले देशलाई समृद्धितर्फ लैजान एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

अहिले देशमा आइपरेका जस्तोसुकै चुनौतीलाई पनि पार लगाउँदै अगाडि जान सकिने बताउँदै उहाँले विकास निर्माण, सुशासनका क्षेत्रमा गर्नुपर्ने काम धेरै भएकाले त्यसमा केन्द्रित भएर अगाडि बढेको छ भन्नुभयो ।

उहाँले नेपालले दुई छिमेकी चीन र भारतसँग सम्बन्ध अझ विस्तार गरी धेरै लाभ लिनसक्ने अवसर रहेको उल्लेख गर्नुभयो । नेपालमा पर्यटन, खानी, पानीलगायतका प्राकृतिक सम्भावना प्रशस्त भएपनि राजनीतिक अस्थिरताले देश पछाडि परेको बताउँदै अध्यक्ष दाहालले अब मुलुकलाई समृद्धितर्फ लैजाने समय आएको छ भन्नुभयो ।

चुनावमा जनतामाझ जाँदा गरेका प्रतिबद्धता सरकारले पूरा गर्ने बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, “जनताको सुशासन, भ्रष्टाचार, महङ्गी नियन्त्रण, बृद्धभत्ता बढाउने कुरा, निर्वाचनका बेलामा जे–जे प्रतिबद्धता गरिएको थियो, त्यसलाई सम्बोधन हुने गरी सरकारले अब काम गर्छ ।” एक प्रसङ्गमा उहाँले दशैँलगत्तै तल्लो तहसम्म पार्टी एकता पूरा गर्ने बताउनुभयो । रासस

प्रकाशित मिति: २७ आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्