झापामा दुर्घटना न्यूनीकरण गर्न चालकलाई चकलेट


 


झापा, असोज २७

चाडपर्वका बेला सडकमा सवारीसाधनको चाँप बढेसँगै हुनसक्ने दुर्घटना न्यूनीकरणमा टेवा पुर्याउने उद्देश्यले आज पाँच सय सवारीसाधनमा स्किटर टाँस्नुका साथै चालकलाई चकलेट प्रदान गरिएको छ ।

वीरता जेसिज, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र लेट्स रन नेपाल झापाको संयुक्त आयोजनामा दुर्घटना न्यूनीकरण महाअभियान अन्तर्गत चेतनामूलक स्टिकर टाँस्ने कार्य, यात्रुलाई पर्चा वितरण र चालकलाई राम्रोसँग सवारी चलाउन प्रेरित गर्दै चकलेट वितरण गरिएको हो ।

झापाबाट काठमाडौँ लगायतका लामो दुरीतर्फ जानेआउने तथा बिर्तामोड बसपार्कबाट इलाम, पाँचथर, ताप्लेजुङ जाने सवारीसाधनलाई लक्षित गरी उक्त अभियान सञ्चालन गरिएको छ । आयोजकले पैदलयात्रीलाई समेत पर्चा वितरण गरेका थिए ।

बिर्तामोडको पश्चिम बिसौनीमा दुबैतर्फबाट आवातजावत गर्ने सवारीसाधनलाई लक्षित गरी तीनवटा टोली तथा बसपार्कमा एउटा टोली बनाएर बिहान ६ बजेबाट उक्त अभियान सञ्चालन गरिएको छ ।

यसअघि गत असोज २ गते वीरता जेसिज र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको संयुक्त आयोजनामा दुर्घटना न्यूनीकरण महाअभियान शुभारम्भको घोषणासहित एक हजार चालकलाई खादा लगाएर सम्मान गरिएको थियो भने स्टिकर टाँस, चकलेट र पर्चा वितरण तथा सडक कविता प्रतियोगिता सम्पन्न गरिएको थियो । रासस

प्रकाशित मिति: २७ आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्