दशैँको बिदापछि खुले कार्यालय, भएन चहलपहल


 


काठमाडौँ, कात्तिक ५

दशैँको बिदा सकिएर आइतबारदेखि नै सरकारी कार्यालय खुले पनि कर्मचारी र सेवाग्राहीको चहलपहल बढ्न सकेको छैन । दशैँ मान्न उपत्यका बाहिरिएका मानिस क्रमशः आउन थालेपछि राजधानीमा चहलपहल शुरु भए पनि कार्यालयहरु भने अझै सुनसान छन् ।

राजधानी आएका मानिस पनि टीका–जमरा लगाएर परिवारका साथ हिँडेको देख्न सकिन्छ । धेरै कर्मचारी बिदा लिएर बसेका छन् । कार्यालय आउने कर्मचारी पनि टीका लगाउन बाँकी छ भन्दै चाँडै नै हिँड्ने गरेका छन् ।

लोक सेवा आयोग केन्द्रीय कार्यालय अनामनगरमा ७० कर्मचारी छन् । छ जनाले बिदा स्वीकृत गराएर बसेका छन् भने पाँच जनाले मौखिक रुपमा बिदा मागेर बसेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताउनुभयो । विभिन्न निकायले गर्ने परीक्षाका लागि पाँच जना अधिकृतस्तरका कर्मचारी घरपायक पर्ने गरी काजमा खटिएको उहाँले बताउनुभयो ।

आयोगका कोठाकोठा घुम्दा भने कर्मचारी भएको पाउन मुस्किल थियो । सिंहदरबार वैद्यखानामा ४८ कर्मचारी छन् । घर टाढा भएका १३ जनाले बिदा लिएर बसेको प्रशासकीय अधिकृत रुन्धताकुमारी खरेलले बताउनुभयो । कार्यालयमा आएर छिटै हिँड्ने कर्मचारीको सङ्ख्या धेरै रहेको छ । कार्यालयमा स्थलगत रुपमा अनुगमन गर्ने हो भने प्रायः सबै कोठा खाली भेटिन्छन् । कर्मचारी फेला पार्न मुस्किल छ ।

वैद्यखानामा कार्यरत मनोज झा सार्वजनिक यातायातको अभावले गर्दा टीकाको भोलिपल्टै आउन मुस्किल भएको बताउनुहुन्छ । सवारी पाएर आए पनि बाटोमा सवारीको चापले गर्दा धेरैलाई दुःख दिएको छ । वैद्यखानाका निमित्त प्रमुख डा हरिदेवप्रसाद यादव अधिकांश कार्यालयमा आउने कर्मचारी चाडपर्वका बेला भागेर लुकेर हिँड्ने गरेको अनुभव सुनाउनुहुन्छ ।

कार्यालय भ्याउन जनकपुर घर भएका आदित्य ठाकुरले परिवारलाई उतै छोडेर आउन बाध्य हुनु परेको बताउनुभयो । परिवारका सबै जनालाई गाडीमा सिट नपाएपछि एक्लै आउनु परेको उहाँको गुनासो थियो ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणमा भने आइतबार एक जना पनि कर्मचारी प्रवेश गरेनन् । सोमबार दुई जना सेवाग्राही काम लिएर आएको प्रवक्ता केशवप्रसाद न्यौपानेले जानकारी दिनुभयो । सेवाग्राही नआए पनि आज केही कर्मचारी कार्यालय रुँगेर बसेको देखिन्छ ।

प्रवक्ता न्यौपाने सरकारले बिदा प्रणालीमा नै परिवर्तन गर्नुपर्ने बताउनुहुन्छ । सबैजसो मन्त्रालय रहेको सिंहदरबार परिसरभित्रको अवस्था पनि फरक छैन । कुनै पनि मन्त्रालयमा जानकारी दिने अधिकारी भेट्न सकिएन । बिदासम्बन्धी निर्णय गर्ने गृह मन्त्रालयको बा१ग २२३६ नंको बस कार्यालय समय सकिएपछि नौ जना कर्मचारी मात्र लिएर निस्केको थियो ।

मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी घर टाढा भएका कर्मचारी बिदा लिएर बसेको हुनसक्ने बताउनुहुन्छ । कार्यालय खुलेपछि हाजिर हुनुपर्ने उहाँको भनाइ छ । सार्वजनिक बिदा कटौती गर्दा सबैले स्वागत गरेको प्रवक्ता सुवेदीले स्मरण गराउनुभयो ।

सेवाग्राही नआए पनि कार्यालय खुल्दा बढी खर्च नलाग्ने मन्त्रालयले जनाएको छ । नेपालीको महान् पर्व दशैँ मनाउन पहिले दुर्गा पक्षका १५ दिन नै बिदा दिने चलन थियो । पछि काटेर १० दिनमा झारियो । यसै वर्षदेखि सरकारले यस पर्वका अवसरमा चार दिन मात्र बिदा दिएको थियो । रासस

प्रकाशित मिति: ५ कार्तिक २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्