विराटनगरबाट दुई थुनुवा फरार, प्रहरीको लापरवाही



विराटनगर, कात्तिक ९

ड्युटीमा रहेका प्रहरीको लापरवाहीका कारण विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीबाट गयराति दुई थुनुवा फरार भएका छन् ।
कर्तव्य ज्यान तथा अपहरण मुद्धा चलाउनका लागि अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेका दुई थुनुवा फरार भएका हुन् ।

थुनेर राखेको हिरासत कक्षको ६ वटा रड काटेर थुनुवा फरार भए पनि ड्युटीमा रहेका प्रहरीले कुनै सुइँको पाएनन् । फरार हुने थुनुवामा विराटनगर महानगरपालिका १७ का २० वर्षीय मोहम्मद आरिफ र मोहम्मद सदिम हुसेन रहेका छन् । आफ्नै साथीको अपहरणपछि हत्या गरेको अभियोगमा तीन साता अघि पक्राउ गरेर प्रहरीले उनीहरुमाथि अनुसन्धान गरिरहेको थियो ।

विराटनगर १७ रानीका १९ वर्षीय मोहम्मद अस्ताकको अपहरणपछि हत्या गरेर फ्यालेको अवस्थामा शव गत असोज ७ गते ह्युम पाइप मुनी फेला परेको थियो । घटनाको अनुसन्धान जारी रहेका बेला दुबै अभियुक्त भने २४ घण्टा नै प्रहरीको ड्युटी रहने हिरासतबाटै फरार भएका हुन् । उनीहरुले कुन औजार प्रयोग गरेर हिरासतमा रहेको भेन्टिलेसनको रड काटे भन्ने कुरा खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटनास्थलबाट रड काट्नका लागि प्रयोग गरिएको कुनै औजार र काटिएका रडका टुक्रा पनि फेला पर्न सकेको छैन । फलामको रड काटेर थुनुवा भाग्दा सम्म पनि हिरासत सुरक्षार्थ खटाइएका प्रहरीले थाहा नपाउनुलाई लापरवाहीका रुपमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News