खुशीको खबर ! नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने


 


काठमाडौँ, कात्तिक १६

नेपाली वायु सेवा प्रदायक कम्पनीले थाइल्याण्डमा सहज उडान भर्न पाउने भएका छन् । नेपाल र थाइल्याण्डबीच आज भएको हवाई सम्झौतापछि नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने भएका हुन् । दुई देशबीच ४७ वर्षपछि हवाई सम्झौता नवीकरण भएको हो । सन् १९७१ मा भएको पुरानो ढाँचाको सम्झौतालाई परिमार्जन गरी नयाँ व्यवस्था कायम गरिएको छ ।

पुराना ढाँचाको हवाई सेवा सम्झौता (एसए) लाई परिमार्जन गर्दै ग्रान्ट अफ राइट्स, को-अपरेटिभ मार्केटिङ एरेन्जमेन्ट, एभिएसन सेक्युरिटी तथा एभिएसन सेफ्टीलगायतका अन्तर्राष्ट्रिय उड्डयन सङ्गठन (आइकाओ) ले निर्देशन गरेको ढाँचा र विषयवस्तु समेटी नयाँ हवाई सम्झौता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

थाइल्याण्डमा भएको उक्त सम्झौताको औपचारिक जानकारी भने मन्त्रालयले छिट्टै सार्वजनिक गर्ने जनाएको छ । थाइल्याण्डको बैङ्ककमा दुई पक्षीय वार्तापछि भएको हवाई सेवा सम्झौता समझदारी पत्रमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य र थाइल्याण्डको नागरिक उड्डयन निकायका महानिर्देशक चुला सुकामानोपले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार एक सातामा दुवै पक्षले २८ उडान गर्नसक्ने र जुनसुकै वायुयान प्रयोग गर्न पाउने भएका छन् । यस्तै थाइ पक्षलाई काठमाडौँबाहेक नयाँ निर्माणधीन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत उडान गर्न प्रेरित गर्ने भनिएको छ । रासस

प्रकाशित मिति: १६ कार्तिक २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्