प्रदेश नं १ मा १४ जनामा औलो रोगको संक्रमण


 


झापा कात्तिक १७

झापासहित प्रदेश नं १ मा यस वर्ष १४ जनामा औलो रोगको संक्रमण भेटिएको छ । दमक नगरपालिकाको नगर स्वास्थ्य शाखाले उक्त रोगसम्बन्धी आयोजना गरेको स्वास्थ्यकर्मी तथा सरोकारवालासँगको अन्तरक्रियामा झापामा सातसहित प्रदेश नं १ भर हाल १४ औलो रोगी भेटिएको जानकारी दिएको हो ।

प्रस्तुत तथ्याङ्क गएको जनवरीदेखि अक्टोबरसम्मको भएको स्वास्थ्य शाखाले जनाएको छ । उक्त विषयमा कार्यपत्र प्रस्तुत गर्दै दमक अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा विपीनकुमार पाण्डेले मेचीनगर र झापा गाँउपालिकामा यस वर्ष सात जनामा औलोको संक्रमण भेटिएको उल्लेख गर्नुभयो । संक्रमितमध्ये दुईजना रोजगारीका लागि भारतबाट आएका थिए ।

उहाँका अनुसार झापामा सातसहित मोरङमा तीन, सुनसरीमा दुई र इलाममा दुई संक्रमित छन् । यी जिल्लामध्ये सबैभन्दा धेरै झापामा देखिएको डा पाण्डेले बताउनुभयो । औलोबाट भारतीय सीमावर्ती क्षेत्रका १३ जिल्ला अतिप्रभावित, ३३ जिल्ला प्रभावितको अवस्था रहेको कार्यपत्रमा जनाइएको थियो । रासस

प्रकाशित मिति: १७ कार्तिक २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्