नेकपाभित्र लेबी फरक, पूर्व एमाले तर्फका सांसदले तिर्छन् धेरै


 


काठमाडौँ, कात्तिक १८

एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी गठन भएको पाँच महिना भइसक्यो । संघीय संसद्मा फरक–फरक लहरमा बस्ने सांसद एकीकरणयता मिसिएर बस्छन् । उनीहरूले पार्टीलाई बुझाउने लेबी भने फरक–फरक छ ।

संघीय संसद् सचिवालयका अनुसार तत्कालीन एमालेतर्फकाले प्रतिसांसद मासिक १३ हजार र तत्कालीन माओवादी केन्द्रतर्फकाले १२ हजार तिर्ने गरेका छन् । पार्टीलाई तिर्नुपर्ने लेबी कटाएर मात्रै सचिवालयले सांसदको तलब बैंकमा पठाउने गरेको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

प्रतिनिधि र राष्ट्रिय सभा गरी एमालेतर्फका १ सय ४८ र माओवादीका ६५ सांसद छन् । ती दुवै मिल्दा नेकपाका २ सय १३ सांसद भइसके । संसदीय दल एउटै, सचेतक र प्रमुख सचेतक पनि एउटै । दुई दलबीच जेठ ३ मा एकीकरण भएको थियो । निर्वाचन आयोगले समेत एकीकृत दल ‘नेकपा’ लाई मान्यता दिइसकेको छ ।

जेठ १६ मा बसेको संसदीय दलको बैठकले देव गुरुङलाई प्रमुख सचेतक तोकेको छ ।  एकीकरणअघि एमालेको प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरी थिए । त्यस्तै माओवादीको प्रमुख सचेतकमा देव गुरुङ थिए । संसदीय दलको नेतामा प्रधानमन्त्री केपी ओली छन् ।

प्रकाशित मिति: १८ कार्तिक २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्