आज काग तिहार मनाईदै



काठमाडौँ, कात्तिक १९

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहार आजदेखि शुरु भएको छ ।

चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ । यम यातनाबाट मुक्ति पाउन आजैदेखि घरघरमा परिवार सङ्ख्याका आधारमा यमदीप दान गर्ने विधि छ । यमदीप दान बेलुकी गर्ने प्रचलन रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

यमपञ्चकको पहिलो दिन आज काग तिहार मनाईदैछ । यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ । आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा काग रुपी महादेवलाई पूजा गर्ने भक्तजनको भीड लाग्छ । भोली कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ । बिहानै उठेर तिलको तेल घसेर स्नान गरेमा यमराज प्रसन्न हुने जनविश्वास छ । स्नानपछि कुकुरलाई मीठा खानेकुरा खान दिइन्छ ।

काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ । कात्तिक २१ गते बुधबार कार्तिक कृष्ण औँशीका दिन लक्ष्मी पूजा गरिन्छ । यसदिन बेलुकी दीपमालिका गरेपछि धनधान्यकी देवी लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ । यसैले तिहारलाई उज्यालोको पर्व पनि भनिन्छ । यसैदिन भलो होस् भनी भैलो खेल्ने चलन छ । कात्तिक शुक्ल द्वितीयाका दिन कात्तिक २३ गते शुक्रबार भाइटीका परेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News