आजदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट


 


काठमाडौं, कार्तिक २०

आजदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने भएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो ।

स्टकका प्रवक्ता मुरहरि पराजुलीले अनलाइन कारोवार प्रणालीको सुरुआत गर्न लागिएको जानकारी दिनुभयो । शेयर कारोवार गर्न चाहने लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीकहाँ गएर कारोवार सम्बन्धी व्यक्तिगत विवरण खुल्ने खाता खोलेपछि घर, कार्यालय वा जुनसुकै स्थानबाट पनि सहजै कारोवार गर्न सक्नेछन् ।

स्टकले गत साउन १ गतेदेखि परिक्षण गरिरहेको पूर्ण स्वचालित अनलाइन प्रणालीमा धितोपत्र दलाल व्यवसायी सबै जोडिएका छन् । उनीहरुले आवश्यक भौतिक तयारीसमेत सबै गरिसकेका छन् । स्टकका प्रवक्ता पराजुलीका अनुसार शेयर कारोवारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसाथ नयाँ प्रविधि जडान गरिएको हो ।

प्रकाशित मिति: २० कार्तिक २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्