देवकोटाको जन्मघरलाई सङ्ग्रहालय बनाउने प्रधानमन्त्रीको घोषणा


 


काठमाडौँ, कात्तिक २१

प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौँ डिल्लीबजार, धोबीधारास्थित जन्मघर किनेर सङ्ग्रहालय बनाउने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीको अग्रसरतामा महाकवि देवकोटाको ११०औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला, साहित्य प्रतिष्ठानले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उहाँले देवकोटा विलक्षण प्रतिभा र बौद्धिक व्यक्तित्व भएकाले उहाँको कृतित्व र व्यक्तित्वबारे भावी पुस्तालाई जानकारी दिनका लागि सङ्ग्रहालयको आवश्यकता रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देवकोटाका परिवारसँग कुरा गरेर उपयुक्त मूल्यमा भग्नावशेषको अवस्थामा रहेको सो घर खरिद गरी ‘रोक्टोफिटिङ’ गरेर देवकोटा कसरी पलेटी कसेर लेख्थे भन्नेसम्मका स्मृति झल्काउन सरकारले सङ्ग्रहालय बनाउने उद्घोष गर्दा सहभागी स्रष्टाहरुले तालीले स्वागत गरेका थिए ।

महाकविको उक्त जन्मघर हाल जीर्ण अवस्थामा छ भने नजिकैको नयाँ घरमा उहाँका छोरा डा पदमप्रसाद देवकोटा बस्दै आउनुभएको छ । विसं १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन जन्मिएका र विसं २०१६ भदौ २९ गते निधन हुनुभएका महाकावि देवकोटाका ‘मुनामदन’, ‘सुलोचना’, ‘शाकुन्तल’ ‘पहाडी पुकार’ लगायत दर्जनौँ लोकप्रिय कृति प्रकाशित छन् । उहाँ पूर्व शिक्षामन्त्रीसमेत हुनुहुन्छ । रासस

प्रकाशित मिति: २१ कार्तिक २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्